नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडको सेयर कारोबार स्थगन गरेको छ। कम्पनीले सेयर मूल्यमा प्रत्यक्ष प्रभाव पार्ने सूचना समयमा सार्वजनिक नगरेपछि नेप्सेले कम्पनीलाई स्पष्टिकरण सोध्दै कारोबार रोक्ने निर्णय गरेको हो।
कम्पनीको सञ्चालक समितिको भदौ ११ गते बसेको बैठकले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने एजेन्डासहित नवौँ वार्षिक साधारणसभा असोज ९ गते आयोजना गर्ने निर्णय गरेको थियो। तर, उक्त निर्णय नेप्सेमा कम्पनीले भदौ १६ गते मात्र पठाएको हो।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) अनुसार सेयर मूल्यमा प्रभाव पार्ने सूचना वा निर्णय सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेमा अनिवार्य पठाउनुपर्ने व्यवस्था छ। अपर स्याङ्गेले सो प्रावधान उल्लंघन गरेकाले कम्पनीको कारोबार रोक्का गरी ३ कार्यदिनभित्र कारण खुलाउन निर्देशन दिइएको नेप्सेले जनाएको छ।


प्रतिकृया