युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले ४.५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न ३२औं वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको ८३औं बैठकले आगामी असार ३१ गते सभा आयोजना गर्ने निर्णय गरेको हो।
सभा काठमाडौंस्थित अम्रपाली ब्याङ्क्वेटमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ३१ करोड रुपैयाँको ४.२८ प्रतिशतका दरले ९ करोड ९० लाख रुपैयाँ बराबरको बोनस सेयर तथा कर प्रयोजनका लागि ०.२२ प्रतिशतका दरले ५२ लाख १० हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। यसरी कम्पनीले कुल ४.५ प्रतिशत लाभांश वितरण गर्ने तयारी गरेको छ।
हाल कम्पनीको जारी पुँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ रहेको छ। प्रस्तावित बोनस सेयर वितरणपछि जारी पुँजी बढेर २ अर्ब ६४ करोड रुपैयाँ पुग्ने भएकाले सोहीअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।
यसैगरी, सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा चालु आर्थिक वर्ष २०८२/८३ का लागि जेबी राजभण्डारी एण्ड डिबिन्स चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावमाथि पनि छलफल गरी पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असार १९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले असार १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिकृया