नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंकमाथि कारबाही गरेको छ। राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक अवधिमा कुमारी बैंक लिमिटेड र प्राइम कमर्सियल बैंक लिमिटेडमाथि कारबाही गरेको हो।
राष्ट्र बैंकका अनुसार कुमारी बैंकले राष्ट्र बैंकको एकीकृत निर्देशन २०८१ अन्तर्गतको इ.प्रा. निर्देशन नं. १२/०८१, बुँदा नं. ९ (उपबुँदा २ (ङ)(५)) मा उल्लिखित प्रावधानको उल्लंघन गरेको पाइएको हो। सो प्रावधानअनुसार “कालोसूचीमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्ने बाहेक अन्य कुनै पनि बैंकिङ कारोबार गर्न नपाउने” व्यवस्था छ। उक्त व्यवस्था पालना नगरेको पाइएपछि राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १००(१)(क) बमोजिम कुमारी बैंकलाई सचेत गराएको हो।
त्यस्तै, प्राइम कमर्सियल बैंकमाथि पनि विभिन्न त्रुटि भेटिएपछि कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ। निरीक्षणका क्रममा बैंकले केही कर्जालाई भाखा नाघेको आधारमा वर्गीकरण नगरेको, केही कर्जामा आवश्यक कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, र जोखिम भार गणना गर्दा क्यापिटल एडिक्वेसी फ्रेमवर्क, २०१५ बमोजिम गणना नगरेको पाइएपछि बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको हो।राष्ट्र बैंकले यो कारबाही नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १००(२)(क) अनुसार गरेको जनाएको छ।

















प्रतिकृया