दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिँदैछ बोनस र नगद ?
लक्ष्मी सनराइज बैंक लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ दुवै कम्पनीले पुस १ गते बुकक्लोज गर्दैछन्। यस अनुसार मंसिर २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले यी कम्पनीहरूको साधारण सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
लक्ष्मी सनराइज बैंकले पुस १४ गते (सोमबार) काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान ११ बजे २५औँ वार्षिक साधारण सभा आयोजना गर्दैछ। सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै बैंकको सञ्चालक समितिको संरचना हेरफेर गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पेश गरिनेछन्।
त्यस्तै, कालिञ्चोक दर्शन लिमिटेडले पुस १५ गते (मंगलबार) काठमाडौंको गौशालास्थित बद्रीनाथ होटलमा दिउँसो ११:३० बजे ११औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै बोनस सेयर वितरणपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिका निर्णयहरू अनुमोदन गर्ने, सञ्चालक नियुक्ति अनुमोदन गर्ने तथा लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरू पनि सभामा पेश गरिनेछन्।





