दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिँदैछ बोनस र नगद?

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिँदैछ बोनस र नगद?
Advertisement Ads

आज असोज ८ गते बिहीबार माछापुच्छ्रे बैंक र कालिञ्चोक दर्शन लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बुकक्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

कालिञ्चोक दर्शन लिमिटेडले भोलि अर्थात् असोज ९ गते बुकक्लोज गर्दैछ। कम्पनीले असोज १६ गते शुक्रबार जर्मन होम्स होटल, मध्यपुर ठिमी, गठाघर, भक्तपुरमा १२औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा दिउँसो साढे ११ बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पुँजीको ८.५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.४४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको पूर्वनिर्धारित शतप्रतिशत अनुपातमा ६८ लाख ३५ हजार ५०० कित्ता हकप्रद सेयर निष्काशन तथा समायोजन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ। यसका साथै प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिले गरेका निर्णय अनुमोदन गर्ने, सञ्चालक नियुक्ति अनुमोदन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव रहेका छन्।

माछापुच्छ्रे बैंक लिमिटेडले असोज १२ गते बुक क्लोज गर्दैछ। कम्पनीले असोज २८ गते बुधबार होटल पोखरा ग्राण्ड, पार्दी, पोखरामा २८औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ११ बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, अग्राधिकार सेयरधनीलाई अविमोच्य असञ्चिति अग्राधिकार सेयरको ८.२५ प्रतिशतका दरले असार मसान्तसम्मको समानुपातिक नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।

सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहका सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना र सर्वसाधारण समूहका सेयरधनीको तर्फबाट एक जना सञ्चालक निर्वाचित गर्ने प्रस्ताव पारित गर्नेछ। यस्तै, स्वतन्त्र सञ्चालक पदमा चार वर्षका लागि अर्जुन कुमार गौतमलाई नियुक्त गरिएको जानकारी गराउने तथा लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि सभामा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स