सरकार ढल्छ भनेर म्याद तोक्नेहरू छटपटाएका छन् : प्रदीप ज्ञवाली



Advertisement
Ads

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देशका सबै क्षेत्र अस्तव्यस्त भएकाले नेपाली कांग्रेस र नेकपा एमालेबीच सहकार्य आवश्यक भएको बताएका छन्। बिहीबार प्रेस चौतारी नेपाल ललितपुरको छैटौं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै उनले सुशासन कायम गरी अर्थतन्त्रलाई चलायमान बनाउन र नागरिकमा आशा जगाउन दुबै दल मिलेर सरकार बनाएको स्पष्ट पारे।


Advertisement

ज्ञवालीले सहज अवस्थामा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने तर संकटको बेला भने सहकार्य आवश्यक हुने उल्लेख गरे। ‘धेरैको अनुमान विपरीत नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिएर राष्ट्रको समस्या सम्बोधनको प्रयास गरिरहेका छन्,’ उनले भने।


Advertisement

सहकारी ठगी प्रकरणमा सरकारले निष्पक्ष कारबाही गरिरहेको बताउँदै उनले यसलाई रवि लामिछाने वा रास्वपालाई निशाना बनाउने उद्देश्य नभएको स्पष्ट पारे। उनले नेकपा एमालेसहित अन्य दलका नेताहरूमाथि पनि कानुनी प्रक्रिया अघि बढाइएको बताए। ‘गल्ती छ भने सडक अदालतले गरेको फैसलाको कुनै अर्थ हुँदैन,’ उनले थपे।

सरकार ढल्ने अड्कल गर्नेहरू कांग्रेस-एमाले गठबन्धन बलियो भएको देखेर असहज महसुस गरिरहेको उनले दाबी गरे। उनले ६/६ महिनामा सरकार परिवर्तन गर्ने बिचौलियाहरू असफल भएको र यसमा विभिन्न शक्ति लागेको आरोप लगाए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) त्यसका केन्द्रमा रहेको उनले बताए।

ज्ञवालीका अनुसार देश हाल पूर्णरूपमा उत्कृष्ट स्थितिमा नभए पनि सकारात्मक दिशातर्फ अघि बढिरहेको छ। माओवादी द्वन्द्वका १० वर्ष र त्यसको व्यवस्थापनमा लागेको अर्को १० वर्षका कारण देशको विकास गति पछाडि धकेलिएको उनले टिप्पणी गरे।

प्रेस स्वतन्त्रताको पक्षमा एमाले सदैव दृढ रहेको बताउँदै उनले लोकतन्त्रले जनताको जीवनमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए। ‘निरंकुशताको जेल, नेल भोगेका हामीलाई लोकतन्त्रको मूल्य राम्ररी थाहा छ,’ उनले भने।

पत्रकारितामा विश्वसनीयता सबैभन्दा महत्त्वपूर्ण रहेको बताउँदै उनले लोकतन्त्रलाई मर्यादित बनाउन मिडियाले भूमिका खेल्नुपर्ने बताए। साथै, सामाजिक सञ्जालमा फैलिएका अराजकताका कारण सरकारले नियमन गर्न कानुन ल्याउने तयारी गरिरहेको जानकारी दिए। सो विधेयक संसदमा छलफल भएर परिमार्जनसहित पारित गरिने र सञ्चार क्षेत्रका सरोकारवालासँग सुझाव लिइने उनले बताए।

‘तथ्यमा आधारित आलोचना गर्न पाइन्छ, तर जिउँदो मानिसलाई श्रद्धाञ्जली दिने जस्ता गलत प्रवृत्तिहरू स्वीकार्य हुँदैनन्,’ उनले स्पष्ट पारे। मिडिया र सामाजिक सञ्जाल स्वच्छ सूचना आदानप्रदान र मनोरञ्जनको थलो बन्नुपर्ने भन्दै उनले सत्यलाई असत्यको भिडबाट जोगाउनु पर्ने आवश्यकता औंल्याए।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर