मैले हाँच्छ्यू मात्रै गर्दा आइसियुमा बसेको फोटो फेसबुकमा हालदिन्छन्: प्रधानमन्त्री ओली

मैले हाँच्छ्यू मात्रै गर्दा आइसियुमा बसेको फोटो फेसबुकमा हालदिन्छन्: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सामान्य रुघाखोकी लागेको बेला अस्पतालको आइसियुमा भएको भन्ने भ्रमपूर्ण तस्बिर सार्वजनिक गरिएकोमा गुनासो व्यक्त गरे। सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिकामा नवनिर्मित प्रशासकीय भवन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले भने, “मलाई सामान्य रुघाखोकी लागेको थियो र एन्टीबायोटिकले शरीरलाई अलि कमजोर बनाएको थियो। तर, हाँच्छ्यू गर्दा आइसियुको फोटो फेसबुकमा अपलोड गरियो। खोक्न पनि पाएको छैन, तर मलाई आइसियुमा बसेको देखाउँछन्।”

प्रधानमन्त्री ओलीले यसलाई सरकारको विरोध गर्ने सीमित समूहद्वारा फैलाइएको भ्रमका रूपमा टिप्पणी गर्दै भने, “जनता यसप्रकारको भ्रमबाट प्रभावित नहोस्।”

उनले सो समारोहमा वर्तमान सरकार दुई ठूला दलहरूको सहकार्यमा देशलाई स्थिरता र विकासको मार्गमा अघि बढाउन प्रतिबद्ध रहेको बताउँदै, सत्ताको खिचातानीमा समय खेर फाल्ने प्रवृत्तिबाट देशलाई मुक्त गर्न सरकार प्रतिबद्ध रहेको प्रस्ट पारे।

“अब सरकार विकासको नेतृत्व गर्नेछ। सरकार ढल्यो भनेर छाति पिट्नुको कुनै अर्थ छैन। नेपाली कांग्रेस र नेकपा एमालेले देशलाई स्थिरता दिने संकल्प गरिसकेका छन्,” ओलीले भने।

कार्यक्रममा उनले लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउँदै जनतालाई सेवा प्रदान गर्ने प्रणालीलाई सुदृढ गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स