सङ्घीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै, प्रधानमन्त्रीसहित शिर्ष नेताले सम्बाेधन गर्ने
सङ्घीय संसद्को हिउँदे अधिवेशन आज (शुक्रबार) अपराह्न १ बजेबाट नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्दैछ। विधेयक अधिवेशनका रूपमा लिइने यो अधिवेशनका लागि संसद् सचिवालयले दुबै सदनका सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ।
प्रतिनिधिसभा बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको तथा कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्। साथै, सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यको मनोनयन गर्नेछन्। अधिवेशनको पहिलो दिन दलीय आधारमा सांसदहरूले आ–आफ्नो मन्तव्य राख्ने कार्यसूची रहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले “सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१” पेश गर्नेछन्। त्यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१”, “निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१” र “आर्थिक तथा व्यावसायिक वातावरण सुधार तथा लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१” प्रस्तुत गर्नेछन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले “सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१” र “भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१” पेश गर्नेछन्। साथै, सभामुखले विभिन्न शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ।
राष्ट्रियसभाको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० तथा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेश गरिने कार्यसूची छ। संसद्मा सङ्घीय निजामती, विद्यालय शिक्षा, प्रहरी समायोजनलगायतका महत्त्वपूर्ण विधेयकहरू लामो समयदेखि विचाराधीन छन्, जसमा संसदीय समितिहरूमा छलफल भइरहेको संसद् सचिवालयले जनाएको छ।