नेपाल धितोपत्र बोर्ड (SEBON) ३४औँ वर्षमा प्रवेश गरेको अवसरमा अध्यक्ष उत्तर कुमार खत्रीले पुँजी बजारलाई सुरक्षित, विश्वसनीय र अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्न बोर्ड प्रतिबद्ध रहेको बताएका छन्।
बोर्डले धितोपत्र ऐन, २०६३ अनुसार पुँजी बजार नियमन, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको संरचनागत सुधार गर्दै संस्थागत लगानीकर्ता, पेन्सन कोष, बीमा, म्युचुअल फण्ड तथा गैरआवासीय नेपालीको सहभागिता विस्तार गर्ने लक्ष्य लिएको छ।
त्यस्तै, ऋण बजार, बण्ड बजार, पूर्वाधार बण्ड तथा जोखिम व्यवस्थापन उपकरण विकासमार्फत दीर्घकालीन पुँजी निर्माणमा जोड दिइने अध्यक्ष खत्रीले बताएका छन्।
आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यअनुसार सूचीकृत कम्पनीका धितोपत्र बिक्रीमा लाग्दै आएको पुँजीगत लाभकर अन्तिम हुने व्यवस्था कार्यान्वयनसँगै बजार थप गतिशील हुने अपेक्षा गरिएको छ।
बोर्डले नियामकीय क्षमता सुदृढीकरण, प्रविधिको उपयोग, लगानीकर्ताको हित संरक्षण, सुशासन प्रवर्द्धन तथा धितोपत्र बजारसम्बन्धी कसूरको अनुसन्धान र कारबाहीलाई प्राथमिकतामा राखेको छ।
साथै, सार्वजनिक निष्काशनलाई पारदर्शी बनाउन संरचनागत तथा कानुनी सुधार, एसएमई प्लेटफर्म र वस्तु विनिमय बजार सञ्चालन, बजार सहभागीको व्यवसायिकता अभिवृद्धि तथा बजार शिक्षा र सचेतना कार्यक्रमलाई समेत अघि बढाइने जनाइएको छ।
अध्यक्ष खत्रीले IOSCO मापदण्ड, अन्तर्राष्ट्रिय अभ्यास तथा सरकारी नीतिअनुसार बजारलाई थप विश्वसनीय र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
अन्त्यमा, उनले सरकार, नियामक निकाय, अन्तर्राष्ट्रिय संघसंस्था तथा सरोकारवाला सबै पक्षसँग सहकार्य गर्दै धितोपत्र तथा वस्तु विनिमय बजारको प्रभावकारी नियमन र विकासमा बोर्ड अग्रसर रहने बताए।


प्रतिकृया