नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आगामी वैशाख २५ गते देखि हुने, स्टल बुकिङ कहिलेबाट खुल्छ ?
नेपाल उद्योग वाणिज्य महासंघले प्रत्येक वर्ष आयोजना गर्दै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला यस वर्ष २०८२ वैशाख २५ देखि २९ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ। यस वर्षको मेला चीन, भारत, पाकिस्तान, बंगलादेश र भुटानका सहभागिहरूसँग २०२५को दशौँ संस्करणको रूपमा मनाइनेछ। मेलामा मेड इन नेपाल पेभेलियन र विभिन्न वस्तुगत संघहरूको पेभेलियन रहनेछ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र र ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा मेला आयोजना हुँदैछ। कुल ३०० भन्दा बढी स्टलमार्फत स्वदेशी र विदेशी वस्तु तथा सेवाहरू प्रदर्शन गरिनेछन्।
मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि, कृषि उत्पादन, उर्जा, भवन र निर्माणसम्बन्धी शिक्षा लगायतका विभिन्न विषयवस्तुहरूका स्टलहरू राखिनेछन्। यस वर्षका प्रमुख आकर्षणहरूमा मेड इन नेपाल उत्पादन, चार पांग्रे र दुई पांग्रे विद्युतीय गाडी (इभी), र अन्तर्राष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तरक्रिया हुने अवसर रहेको छ।
मेलामा जेष्ठ नागरिक र फरक प्रकारका नागरिकहरूको लागि निःशुल्क प्रवेश र विद्यार्थीहरूको लागि ५०% प्रवेश छुटको व्यवस्था गरिएको छ। स्टल बुकिङ २०८१ चैत्र ११ गतेबाट खुला गरिने छ।