बागमती प्रदेशस्थित कृषि तालिम केन्द्र, भण्डारा चितवनले कृषकस्तरका विभिन्न तालिममा सहभागी हुन इच्छुक कृषक तथा उद्यमीहरूबाट आवेदन आह्वान गरेको छ। केन्द्रले २०८२ चैत ९ गते प्रकाशित सूचनाअनुसार चालु आर्थिक वर्षभित्र सञ्चालन गरिने च्याउ खेती, अम्लीय जातका फलफूल खेती, कृषि मेसिनरी मर्मत तथा सम्भार, पुष्प खेती तथा फलफूल–तरकारी प्रशोधन सम्बन्धी तालिमका लागि चैत मसान्तभित्र अनलाइन आवेदन दिन आग्रह गरेको हो।
आवेदन वेसाइटमार्फत दिन सकिनेछ भने आवश्यक फारामहरू सोही वेबसाइटबाट डाउनलोड गरी अपलोड गर्नुपर्नेछ। तालिममा सहभागीहरूका लागि आवतजावत, दैनिक भत्ता तथा भ्रमण खर्च केन्द्रले व्यहोर्ने जनाएको छ। १८ देखि ४५ वर्ष उमेर समूहका कृषक उद्यमीलाई प्राथमिकता दिइनेछ भने महिला, दलित तथा जनजातिलाई विशेष अवसर प्रदान गरिनेछ। तालिमको मिति पछि तय गरिने र छनोट भएका आवेदकलाई जानकारी गराइने केन्द्रले जनाएको छ।


प्रतिकृया