कुलमानलाई स्पष्टीकरण सोध्ने ऊर्जा मन्त्री स्वयं बोर्ड बैठकमा अनुपस्थित
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेका ऊर्जा मन्त्री दीपक खड्का स्वयम् मंगलबार बसेको सञ्चालक समिति बैठकमा अनुपस्थित भएका छन्।
ऊर्जा सचिव सुरेश आचार्य र राजस्व सचिव दिनेशकुमार घिमिरे पनि उक्त बैठकमा सहभागी भएनन्। बैठक प्राधिकरणको वित्तीय विवरण पारित गर्नका लागि बोलाइएको थियो। पुस मसान्तभित्र महालेखामा विवरण पठाउन र कर तिर्नुपर्ने भएकाले बैठक अत्यावश्यक थियो। तर, ऊर्जा मन्त्री र सचिवहरूको अनुपस्थितिले सञ्चालक समितिले कुनै निर्णय गर्न सकेन।
ऊर्जा मन्त्रालयले घिसिङलाई सरकारलाई सहयोग नगरेको भन्दै ९ बुँदे स्पष्टीकरण सोधेको थियो। सात दिनभित्र लिखित जवाफ दिन भनिएको स्पष्टीकरणमा १५ बुँदे विवरण स्पष्ट रूपमा नबुझाएको, पटक–पटक असहयोगी भूमिका खेलेको, पदीय मर्यादा विपरीत काम गरेको, र मन्त्रालयको निर्देशन अवज्ञा गरेको आरोप लगाइएको छ।
साथै, ऊर्जा मन्त्रालयले गठन गरेको टिओडी मिटर विवरण जाँच समितिलाई भत्ता र गाडी सुविधा दिन अस्वीकार गर्दै घिसिङले नोट अफ डिसेन्ट लेखेको आरोप पनि लगाइएको छ। तर, स्पष्टीकरण सोध्ने मन्त्री र सचिवहरूले नै बैठकमा अनुपस्थित रहनुले घटनाले थप प्रश्न खडा गरेको छ।