नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेका ऊर्जा मन्त्री दीपक खड्का स्वयम् मंगलबार बसेको सञ्चालक समिति बैठकमा अनुपस्थित भएका छन्।
ऊर्जा सचिव सुरेश आचार्य र राजस्व सचिव दिनेशकुमार घिमिरे पनि उक्त बैठकमा सहभागी भएनन्। बैठक प्राधिकरणको वित्तीय विवरण पारित गर्नका लागि बोलाइएको थियो। पुस मसान्तभित्र महालेखामा विवरण पठाउन र कर तिर्नुपर्ने भएकाले बैठक अत्यावश्यक थियो। तर, ऊर्जा मन्त्री र सचिवहरूको अनुपस्थितिले सञ्चालक समितिले कुनै निर्णय गर्न सकेन।
ऊर्जा मन्त्रालयले घिसिङलाई सरकारलाई सहयोग नगरेको भन्दै ९ बुँदे स्पष्टीकरण सोधेको थियो। सात दिनभित्र लिखित जवाफ दिन भनिएको स्पष्टीकरणमा १५ बुँदे विवरण स्पष्ट रूपमा नबुझाएको, पटक–पटक असहयोगी भूमिका खेलेको, पदीय मर्यादा विपरीत काम गरेको, र मन्त्रालयको निर्देशन अवज्ञा गरेको आरोप लगाइएको छ।
साथै, ऊर्जा मन्त्रालयले गठन गरेको टिओडी मिटर विवरण जाँच समितिलाई भत्ता र गाडी सुविधा दिन अस्वीकार गर्दै घिसिङले नोट अफ डिसेन्ट लेखेको आरोप पनि लगाइएको छ। तर, स्पष्टीकरण सोध्ने मन्त्री र सचिवहरूले नै बैठकमा अनुपस्थित रहनुले घटनाले थप प्रश्न खडा गरेको छ।



















प्रतिकृया