मधेसको विद्युत् समस्या समाधान गर्न सरकारको आक्रामक तयारी, अर्बौंका आयोजना अघि बढ्दै

मधेसको विद्युत् समस्या समाधान गर्न सरकारको आक्रामक तयारी, अर्बौंका आयोजना अघि बढ्दै
Advertisement Ads

मधेस प्रदेशमा बढ्दो विद्युत् माग, कमजोर वितरण पूर्वाधार र औद्योगिक क्षेत्रमा देखिएको आपूर्ति चुनौती समाधान गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रसारण लाइन तथा सबस्टेसन निर्माणलाई तीव्रता दिएको छ। आगामी दिनमा उद्योग, व्यवसाय तथा घरेलु उपभोक्ताबाट थपिने मागलाई समेत धान्ने गरी विद्युत् पूर्वाधार विस्तार अघि बढाइएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठका अनुसार मधेस प्रदेशका विभिन्न क्षेत्रमा प्रसारण लाइन तथा सबस्टेसन आयोजनाहरू निर्माणको महत्वपूर्ण चरणमा पुगेका छन्। ढल्केबर–बालगंगा १३२ केभी प्रसारण लाइन तथा सबस्टेसन आयोजनाअन्तर्गत करिब २४ किलोमिटर लामो डबल सर्किट प्रसारण लाइन नो–लोड अवस्थामा चार्ज भइसकेको छ। हंसपुर नगरपालिका–९ मा निर्माण भइरहेको ६३ एमभीए क्षमताको सबस्टेसनमा उपकरण जडान तथा सिभिल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। आयोजनालाई दशैंअघि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

करिब २ अर्ब १३ करोड ६० लाख रुपैयाँ लागत अनुमान रहेको यस आयोजनाबाट मुजेलिया, यदुकोहा, धनुषाधाम, वीरेन्द्र बजार, लोहना र नगराइनसहित धनुषाको वितरण प्रणाली थप मजबुत हुने अपेक्षा गरिएको छ।

सिरहा र सप्तरीमा बढ्दो विद्युत् मागलाई ध्यान दिँदै लहान–सुखीपुर १३२ केभी र रुपनी–बोदेबरसाइन १३२ केभी प्रसारण लाइन आयोजना पनि अघि बढाइएको छ। लहान–सुखीपुर आयोजनामा करिब १७ किलोमिटर डबल सर्किट प्रसारण लाइन र १३२/३३/११ केभी सबस्टेसन निर्माण हुनेछ। करिब १ अर्ब ५३ करोड रुपैयाँ लागत अनुमान रहेको आयोजनाको जग्गा अधिग्रहण तथा निर्माणसम्बन्धी काम अघि बढिरहेको छ।

त्यस्तै, सप्तरीमा करिब १८ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरी बोदेबरसाइनमा नयाँ १३२/३३/११ केभी सबस्टेसन स्थापना गर्ने तयारी छ। करिब १ अर्ब ५६ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको अध्ययन पूरा भइसकेको छ भने सीमा पर्खाल निर्माण र निर्माण अनुमतिपत्र प्राप्त गर्ने काम सम्पन्न भएको छ।

रौतहटमा चन्द्रपुर–सुखदेव चोक १३२ केभी प्रसारण लाइनमार्फत मध्य तथा दक्षिणी क्षेत्रमा विद्युत् आपूर्ति सुधार गर्ने काम भइरहेको छ। करिब ३७ किलोमिटर डबल सर्किट प्रसारण लाइन र सरुअठामा १३२/३३/११ केभी सबस्टेसन निर्माण गरिनेछ। प्रसारण लाइन निर्माणका लागि करिब ९३ करोड ८२ लाख ४० हजार रुपैयाँमा सम्झौता भइसकेको छ र निर्माण अवधि ३० महिना तोकिएको छ।

यसैगरी, बारा–पर्साको औद्योगिक क्षेत्रमा बढ्दो विद्युत् मागलाई सम्बोधन गर्न हेटौंडा–परवानीपुर–पोखरिया १३२ केभी प्रसारण लाइन आयोजना अघि बढाइएको छ। परवानीपुरदेखि पोखरियासम्म २१.२१ किलोमिटर लामो १३२ केभी चार सर्किट प्रसारण लाइन निर्माण, पोखरियामा नयाँ सबस्टेसन स्थापना र परवानीपुर सबस्टेसनको बे विस्तार गरिनेछ। आयोजना सन् २०२७ सेप्टेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले निर्माणाधीन आयोजनालाई निर्धारित समयमै सम्पन्न गराउन नियमित अनुगमन, समन्वय र सहजीकरणलाई तीव्रता दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स