दुई कम्पनीको वार्षिक साधारण सभा यही मंसिर २४ गते बस्ने भएको छ। साहस ऊर्जा लिमिटेड र बुद्धभूमि नेपाल हाईड्रोपावरको वार्षिक साधारणसभा बस्ने लागेको हो।
साहस ऊर्जा लिमिटेडले काठमाडौं–बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजे आफ्नो १२औं वार्षिक साधारणसभा बोलाएको छ।सभामा हालको चुक्ता पूँजीबाट २१ प्रतिशत बोनस सेयर र १.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। लाभांश वितरणपछि कायम हुने चुक्ता पूँजीको १०० प्रतिशत (१:१ अनुपात) बराबर ४ करोड ५७ लाख ३८ हजार कित्ता हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।
त्यस्तै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा–नोक्सान विवरण तथा नगद प्रवाह विवरण अनुमोदन गर्नेछ भने चालू आर्थिक वर्षका लागि नयाँ लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्ने एजेन्डा पनि रहेको छ।साधारणसभा तथा लाभांश वितरणका लागि कम्पनीले मंसिर ५ गते एक दिनका लागि बुक क्लोज गरेको छ, जसअनुसार मंसिर ४ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरू मात्र सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य रहनेछन्।
बुद्धभूमि नेपाल हाईड्रोपावर कम्पनीले काठमाडौं–पानीपोखरीस्थित वालनट बिस्ट्रोमा बिहान ११ बजे आफ्नो १७औं वार्षिक साधारणसभा बोलाएको छ।सभामा सञ्चालक समितिले पेश गरेको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरिनेछ।
त्यस्तै, आगामी आ.व. २०८२/८३ का लागि लेखा परीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने तथा सञ्चालक समितिका सदस्यहरूको भत्ता अनुमोदन गर्ने एजेन्डा पनि सभामा रहनेछ। साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर ९ गते बुक कलोज गर्ने भएको छ । जसअनुसार मंसिर ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।





















प्रतिकृया