पोखराको २२ मेगावाट सेतीखोला जलविद्युत् आयोजनाबाट परीक्षण उत्पादन सुरु, आईपीओ ल्याउने तयारी

पोखराको २२ मेगावाट सेतीखोला जलविद्युत् आयोजनाबाट परीक्षण उत्पादन सुरु, आईपीओ ल्याउने तयारी

कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाले परीक्षणस्वरूप विद्युत् उत्पादन सुरु गरेको छ। नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीबाट निरीक्षण तथा परीक्षण सम्पन्न भएपछि आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा परीक्षणका रूपमा प्रवाह गर्न थालिएको हो।

सेती खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित उक्त आयोजना विसं २०७८ मङ्सिरमा निर्माण सुरु गरिएको थियो। आयोजना प्रारम्भिक १५ दिन परीक्षण अवधिमा रहने कम्पनीले जनाएको छ। यस अवधिमा राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् प्रवाहसँगै आयोजना तथा जडान गरिएका उपकरणहरूको प्राविधिक परीक्षण गरिनेछ। परीक्षण सफल भएपछि आयोजना नियमित व्यावसायिक विद्युत् उत्पादनमा प्रवेश गर्नेछ।

आयोजनाले गत मङ्सिरदेखि नै विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य लिएको थियो। तर प्रसारण लाइन निर्माणका लागि आवश्यक वन क्षेत्रको स्वीकृति प्रक्रियामा ढिलाइ हुँदा आयोजना निर्धारित समयमै सञ्चालनमा आउन सकेन। प्रसारण लाइनका लागि निर्माण गरिएका पाँचमध्ये तीन वटा टावर वन क्षेत्रमा परेकाले आवश्यक स्वीकृति प्राप्त गर्न समय लागेको कम्पनीले जनाएको छ।

आयोजनाको बाँध पोखरा–३३ स्थित तिकलाङमा निर्माण गरिएको छ। त्यहाँबाट ३,१०६ मिटर लामो सुरुङमार्फत पानी तल्लो पुँडीटारमा रहेको विद्युत्गृहमा पुर्‍याइएको छ। विद्युत्गृहमा ११–११ मेगावाट क्षमताका दुई वटा टर्बाइन जडान गरिएका छन्।

कुल ५ अर्ब ५ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको आयोजनाले नियमित व्यावसायिक उत्पादन सुरु गरेपछि आगामी आर्थिक वर्षभित्र सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपिओ) जारी गर्ने तयारी गरेको कम्पनीले जनाएको छ।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स