चाडपर्व नजिकिँदै गर्दा चिनीको अभाव भएको भन्ने समाचार सार्वजनिक भइरहेका बेला सरकारले काठमाडौं उपत्यकामा चिनीको सहज र पर्याप्त आपूर्ति भइरहेको जनाएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार भाटभटेनी, बिगमार्ट, सेल्सबेरीलगायत काठमाडौं उपत्यकाका एक हजारभन्दा बढी बिक्री केन्द्रबाट प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री भइरहेको छ।
भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीपहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा बाटो अवरुद्ध हुनुका साथै भारतले चिनी निकासीमा प्रतिबन्ध लगाएपछि चाडपर्वमा चिनीको अभाव हुन सक्ने विषय विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएका थिए।
यसै सन्दर्भमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको अध्यक्षतामा भदौ ३० गते सरोकारवालासँग बसेको बैठकपछि विभागले चिनीको आपूर्ति पर्याप्त रहेको स्पष्ट पारेको हो।
विभागले चिनीको सहज एवं पर्याप्त आपूर्ति भइरहेको भन्दै आम उपभोक्तालाई आवश्यकताभन्दा बढी चिनी सञ्चय नगर्नसमेत अनुरोध गरेको छ।


प्रतिकृया