सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा ८६.१८ प्रतिशतले बढेर १५ करोड ४ लाख ७३ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ८ करोड ८ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानीमा भएको वृद्धि, सञ्चालन मुनाफामा आएको उल्लेख्य सुधार तथा खराब कर्जा उल्लेख्य रूपमा घटेका कारण बैंकको नाफामा उच्च वृद्धि भएको हो। यसले बैंकको सञ्चालन क्षमता र सम्पत्ति गुणस्तर दुवैमा सुधार देखिएको संकेत गर्छ।
समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ०.४७ प्रतिशतले घटेर २३ करोड ३४ लाख २५ हजार रुपैयाँमा आएको छ। यस्तै, सञ्चालन मुनाफा १३२.०५ प्रतिशतले बढेर २४ करोड ७९ लाख ६५ हजार रुपैयाँ पुगेको छ। खराब कर्जा अनुपात ४.५० प्रतिशतबिन्दुले घटेर ६.१५ प्रतिशतमा सीमित भएको छ, जसले बैंकले कर्जा जोखिम व्यवस्थापनमा सुधार गरेको देखिन्छ।
समीक्षा अवधिमा बैंकले ८ अर्ब ८८ करोड ३२ लाख रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ५६ करोड २५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्षको तुलनामा निक्षेप ६६.४४ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह १०.४० प्रतिशतले वृद्धि भएको छ। कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७९.०१ प्रतिशतबाट घटेर ६७.६३ प्रतिशतमा झरेको छ।
बैंकको रिजर्भ कोष २९.७४ प्रतिशतले बढेर ४४ करोड ८० लाख १० हजार रुपैयाँ पुगेको छ।
बैंकको चुक्ता पूँजी ८३ करोड ४३ लाख ३८ हजार रुपैयाँ कायम रहेको छ। यद्यपि, वितरणयोग्य नाफा ५५ करोड ८८ लाख ५३ हजार रुपैयाँ ऋणात्मक रहेको छ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (EPS) ८.३५ रुपैयाँले बढेर १८.०४ रुपैयाँ पुगेको छ। प्रतिसेयर नेटवर्थ करिब ८६.७१ रुपैयाँ रहेको छ। साथै, बैंकको आधार दर (Base Rate) ८.८५ प्रतिशत र कोषको लागत (Cost of Funds) ५.७० प्रतिशत कायम भएको छ।

विद्युत बिक्री बढ्दा र वित्त खर्च घट्दा सुपर मादी हाईड्रोपावरको नाफामा २७८% उछाल
प्रतिकृया