आईफोन १६ लाई टक्कर दिने सामसङ ग्यालेक्सी एस २५ सिरिज सार्वजनिक हुँदै, केके छन् फिचर ?
सामसङको बहुप्रतिक्षित ग्यालेक्सी एस२५ सिरिज सार्वजनिक हुन अब दुई साताभन्दा पनि कम समय बाँकी छ। आगामी २२ जनवरीमा हुने ग्यालेक्सी अनप्याक्ड इभेन्टमा एस२५ सिरिजका तीन मोडेल—ग्यालेक्सी एस२५, एस२५ प्लस, र एस२५ अल्ट्रा सार्वजनिक हुनेछन्। यी स्मार्टफोनहरूमा शक्तिशाली प्रोसेसर र उत्कृष्ट क्यामेरा सेटअप हुने अपेक्षा गरिएको छ।
ग्यालेक्सी एस२५
यस सिरिजका मोडेलहरूको आधिकारिक विवरण सार्वजनिक भइनसके पनि लिक भएका विवरणले महत्त्वपूर्ण जानकारी दिएका छन्। ग्यालेक्सी एस२५ को बेस भेरियन्टमा ६.२ इन्चको फ्ल्याट डाइनामिक एमोलेड टुएक्स डिस्प्ले हुनेछ, जसमा फुल एचडी प्लस (२३४० x १०८० पिक्सेल) र १२० हर्जको रिफ्रेस रेट हुनेछ। फोनमा स्न्यापड्रागन ८ एलिट फर ग्यालेक्सी प्रोसेसर, १२ जीबी र्याम, र १२८ जीबी, २५६ जीबी, र ५१२ जीबी स्टोरेज विकल्प उपलब्ध हुनेछन्।
फोनमा ४००० एमएएच क्षमताको ब्याट्री रहनेछ, जसलाई २५ वाट वायर्ड चार्जर वा वायरलेस चार्जिङमार्फत चार्ज गर्न सकिनेछ। क्यामेरा सेटअपमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, १२ मेगापिक्सेलको अल्ट्रावाइड, र १० मेगापिक्सेलको टेलिफोटो क्यामेरा (ओआईएस, थ्रीएक्स अप्टिकल जुम) हुनेछ। अगाडि १२ मेगापिक्सेलको सेल्फी क्यामेरा रहनेछ।
फोन डुअल सिम, ईसिम, वाई-फाई सेभेन, ब्लुटुथ ५.३, एन्ड्रोइड १५, र सामसङको वन यूआई सेभेनमा आधारित हुनेछ। यसको तौल १६२ ग्राम र आकार १४६.९ x ७०.५ x ७.२ एमएम हुने दाबी गरिएको छ।
ग्यालेक्सी एस२५ प्लस
एस२५ सिरिजको अर्को मोडेल एस२५ प्लसमा ६.७ इन्चको फ्ल्याट डाइनामिक एमोलेड टुएक्स डिस्प्ले हुनेछ, जसमा WQHD (३१२० x १४४०) पिक्सेल र १२० हर्जको रिफ्रेस रेट रहनेछ। यसमा पनि स्न्यापड्रागन ८ एलिट प्रोसेसर, १२ जीबी र्याम, र २५६ जीबी वा ५१२ जीबी स्टोरेज विकल्प उपलब्ध हुनेछन्।
यसमा ४९०० एमएएच क्षमताको ब्याट्री हुनेछ, जसले ४५ वाट वायर्ड चार्जिङ र वायरलेस चार्जिङ सपोर्ट गर्नेछ। क्यामेरा सेटअपमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा, र १० मेगापिक्सेलको टेलिफोटो क्यामेरा (ओआईएस, थ्रीएक्स अप्टिकल जुम) हुनेछ। अगाडि १२ मेगापिक्सेलको सेल्फी क्यामेरा उपलब्ध हुनेछ।
फोन डुअल सिम, ईसिम, वाई-फाई सेभेन, ब्लुटुथ ५.३, एन्ड्रोइड १५, र सामसङको वन यूआई सेभेनमा चल्नेछ। यसको तौल १९० ग्राम र आकार १५८.४ x ७५.८ x ७.३ एमएम रहने दाबी गरिएको छ।
ग्यालेक्सी एस२५ अल्ट्रा
सिरिजको सबैभन्दा शक्तिशाली मोडेल एस२५ अल्ट्रामा ६.९ इन्चको फ्ल्याट डाइनामिक एमोलेड टुएक्स डिस्प्ले हुनेछ, जसमा ३१२० x ११४० पिक्सेल रेजोलुसन र १२० हर्जको रिफ्रेस रेट रहनेछ। यसमा स्न्यापड्रागन ८ एलिट प्रोसेसर, १२ जीबी र्याम, र २५६ जीबी, ५१२ जीबी, र १ टीबी स्टोरेज विकल्प उपलब्ध हुनेछन्।
फोनमा ५००० एमएएच क्षमताको ब्याट्री रहनेछ, जसले ४५ वाट वायर्ड चार्जिङ र वायरलेस चार्जिङ सपोर्ट गर्नेछ। क्यामेरा सेटअपमा २०० मेगापिक्सेलको मुख्य क्यामेरा, ५० मेगापिक्सेलको अल्ट्रावाइड, ५० मेगापिक्सेलको पेरिस्कोप टेलिफोटो (फाइभएक्स अप्टिकल जुम), र १० मेगापिक्सेलको टेलिफोटो क्यामेरा (थ्रीएक्स अप्टिकल जुम) हुनेछ। अगाडि १२ मेगापिक्सेलको सेल्फी क्यामेरा उपलब्ध हुनेछ।
यसको तौल २१८ ग्राम र आकार १६२.८ x ७७.६ x ८.२ एमएम हुनेछ।
सामसङलाई यसपटक एप्पलको आईफोन १६ र ह्वावेको मेट ६० प्रो सँग प्रतिस्पर्धा गर्ने चुनौती छ। एप्पलले आईफोन १६ मा क्यामेरा बटन थपेर नयाँ स्वरूप दिएको छ भने सामसङले गुगलको एआई च्याटबट जेमिनाईको एड्भान्स भर्सन निःशुल्क उपलब्ध गराउने चर्चा छ।
हालसम्म लिक भएका विवरणका आधारमा एस२५ सिरिजमा ठूलो हार्डवेयर परिवर्तन नदेखिए पनि सामसङले आफ्नो सिग्नेचर फिचरहरू मार्फत उपभोक्ताको आकर्षण कायम राख्ने प्रयास गरिरहेको छ।