अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय वाणिज्य बैङ्कलाई एक नम्बरको बैङ्क बनाउने गरी काम गर्नुपर्ने बताएका छन् । राष्ट्रिय वाणिज्य बैङ्कको लुम्बिनी प्रादेशिक कार्यालय र शाखा कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले बदलिँदो समयसँगै सबै कुरालाई रूपान्तरण गरी अग्रणी बैङ्क बनाउनुपर्नेमा जोड दिए ।
उनले सरकारको पूर्ण स्वामित्वमा रहेको वाणिज्य बैङ्कले प्रवाह गर्ने सेवा र दिने सुविधालाई समयसापेक्ष बनाउँदै प्रत्येक सेवाग्राहीले आफ्नोपनको महसुस गर्नेगरी कार्य गर्न बैङ्क व्यवस्थापनलाई अनुरोध गरे।
सेवा विस्तारमा सक्रियताका साथ लागेको वाणिज्य बैङ्कले सेवा सुधारका विषयमा पनि आफूलाई केन्द्रित गरेर सेवाग्राहीको बढी रुचाइएको बैङ्क बनाउन आग्रह गरेका हुन् ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले ब्याजदरमा अहिले भइरहेको एकल अङ्कको ब्याजदर लाई स्थिर बनाउन आवश्यक रहेको बताए । लिने समयमा एकल अङ्कको ब्याजदर भए पनि समयसँगै बढ्दै जाने विगतको अभ्यासले आफूहरूलाई सदैव झकझकाइ रहेको बताए ।
उनले बैङ्कले सेवा क्षेत्रलाई पनि उच्च प्राथमिकतामा राखेका कारण आफूहरूमा आशाको सुरुवात गराएको भन्दै ब्याजदरमा उद्योगी व्यवसायीलाई सुनिश्चितता भए ढुक्कसँग लगानी गर्न आफूहरू तयार रहेको तर्क गरे ।
यसैगरी कार्यक्रममा बुटवल उपमहानगरपालिकाको वडा नं. ४ का वडा अध्यक्ष नरेश्वर पौडेलले आर्थिक अवस्थामा देखिएको चुनौतीहरू पार गर्न राष्ट्रिय वाणिज्य बैङ्कले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले स्थानीय सरकारको हैसियतले बैङ्कलाई आवश्यक पर्ने सबै प्रकारको सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
यसैगरी कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईले बैङ्कको सेवा प्रवाहमा सुधारको सुरुवात भइरहेकोप्रति खुसी व्यक्त गरे । सरकार र निजी क्षेत्रबिचको खाडल न्यूनतम बनाउन वाणिज्य बैङ्कले काम गर्ने समय आएको बताए । सेवाग्राहीले चाहेकोजस्तो सेवा प्रवाह गर्न सके सेवाग्राहीको प्यारो बैङ्क बन्नेमा कसैको दुईमत नरहेको तर्क गरे ।
कार्यक्रममा राष्ट्रिय वाणिज्य बैङ्कका अध्यक्ष दिलीपकुमार ढुङ्गानाले नेपालको माटो सुहाउँदो सेवा र सुविधाहरू प्रदान गर्न आफूहरू प्रतिबद्ध रहेको बताए । उनले कृषि, ऊर्जा, व्यापार, शिक्षा, स्वास्थ्य, उद्यम व्यवसाय, निर्माण, नवीकरणीय ऊर्जा लगायतका विषयगत क्षेत्र तयारी गर्ने गरी लगानी गरिरहेको बताए ।
सहज, छिटो छरितो र सेवाग्राही केन्द्रित सेवा प्रवाहमा आफूहरू सदैव सजग रहेको स्मरण गराउँदै अगामी दिनमा बैङ्कका हरेक गतिविधिलाई सूचना प्रविधिसँग जोड्दै लैजाने दाबी गरे ।
उनले लघुउद्यम, किसानसँग वाणिज्य बैङ्कजस्ता कार्यक्रमसँगै वित्तीय पहुँचको विस्तारका लागि शाखा विस्तारलाई तीव्रतासाथ अगाडि बढाएको बताए । सबैको साथ सहयोग र सहकार्यबाट आर्थिक समृद्धि हासिल गर्न सम्भव रहेको भन्दै उनले समग्र अर्थतन्त्र सुधारमा सहयोग पुग्नेगरी आफूहरूले कार्यक्रमहरू अगाडि बढाएको जिकिर गरे ।
यसैगरी कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैङ्कले उत्पादनलाई जोड दिँदै कृषि, पर्यटन, ऊर्जा, साना उद्यम एवम् पूर्वाधार क्षेत्रमा लगानी बढाएको बताए ।
उनले वित्तीय साक्षरता, सामाजिक सामुदायिक कार्यलाई जोड दिँदै नागरिकसँग वाणिज्य बैङ्कको सम्बन्ध थप सुमधुर बनाउन काम गरिरहेको बताए । प्रतिस्पर्धी बजारको मागअनुसार बैङ्कले सेवा र सुविधालाई समयसापेक्ष बनाउनुपर्ने आवश्यकतालाई महसुस गरी बैङ्कले आफ्नो कार्यलाई परिमार्जित रूपमा अगाडि बढाएको बताए।
साझा प्रतिबद्धताले मात्र समृद्धि सम्भव रहेको स्मरण गराउँदै प्रमुख कार्यकारी अधिकृत खनालले बैङ्कलाई आजको अवस्थासम्म ल्याउन सहयोग गर्ने सबैलाई धन्यावाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै साथ सहयोग भए बैङ्क उत्कृष्ट बन्ने विश्वास व्यक्त गरे । देशको अर्थतन्त्रमा देखिएको असहज अवस्थाका बाबजुद बैङ्कले आफ्ना सूचकलाई व्यवस्थापन गर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान दिइरहेको स्मरण गराए ।


प्रतिकृया