काठमाडौंको पेप्सीकोलास्थित वरुण बेभरेज नेपालद्वारा उत्पादित सेभेनअप (7UP) चिसो पेय पदार्थमा अखाद्य बाह्य पदार्थ भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यसको उत्पादन तथा बिक्री वितरणमा तत्कालका लागि रोक लगाएको छ।
विभागमा प्राप्त उपभोक्ताको गुनासोका आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौं, जिल्ला प्रशासन कार्यालय, वाणिज्य विभाग र प्रहरी प्रभाग काँडाघारीको संयुक्त टोलीले गत बिहीबार उद्योगमा आकस्मिक अनुगमन गरेको थियो। अनुगमनका क्रममा कैफियत पुष्टि भएपछि विभागले कारबाही प्रक्रिया अघि बढाएको हो।
अनुगमनका क्रममा ब्याच नम्बर B006 र उत्पादन मिति 16-04-2026 उल्लेख भएको २५० मिलिलिटरको सेभेनअपको बोतलभित्र अखाद्य बाह्य पदार्थ भेटिएको पुष्टि भएको विभागले जनाएको छ।
वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माका अनुसार उद्योगमा बोतल सफा गर्न ७ तहको वासिङ सिस्टम, लाइट चेकिङ प्रणाली तथा मेटल डिटेक्टरजस्ता गुणस्तर परीक्षणका संयन्त्र जडान गरिएको भए पनि बजारमा पठाउने तयारीमा रहेको उक्त ब्याचमा समस्या देखिएपछि आवश्यक कारबाही अघि बढाइएको हो।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम विभागले अर्को आदेश नभएसम्म सेभेनअपको उत्पादन कार्य पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको छ। साथै, कैफियत देखिएको उक्त ब्याचको पेय पदार्थ बजारमा बिक्री वितरण गर्न पनि रोक लगाइएको छ।
घटनाबारे थप अनुसन्धानका लागि विभागले सम्बन्धित ब्याचका नमूना संकलन गरी प्रयोगशालामा परीक्षणका लागि पठाएको जनाएको छ।
प्रतिकृया