प्रधानमन्त्री ओली भन्छन्, “स्पेनमा मान्छे छाडेर आयो भन्दै घटिया प्रचार गरे”

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार २९ गते
प्रधानमन्त्री ओली भन्छन्, “स्पेनमा मान्छे छाडेर आयो भन्दै घटिया प्रचार गरे”

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणलाई लिएर केही विरोधी र अराजक तत्वहरूले झूठो र स्तरहीन प्रचार गरेको भन्दै आपत्ति जनाएका छन्। ‘स्पेनमा मान्छे छाडेर आयो’ भन्नेजस्ता आरोपले भ्रमणको सफल पक्ष ओझेलमा पार्ने प्रयास भइरहेको उनले बताए। तर, यस्ता आरोपहरूको खण्डन आवश्यक नभएको उनको भनाइ थियो।

झापाको दमक नगरपालिका अन्तर्गत मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजना उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उक्त टिप्पणी गरेका हुन्। विश्व बैंकको सहयोगमा बनेको यो सडक आयोजना दमक नगरपालिकाको गौरवको आयोजना हो, जुन देशभरका १७ मध्ये एक छनोट गरिएको नमूना आयोजना हो। ४.८६ किलोमिटर लामो यो सडक ४४ करोड २४ लाख रुपैयाँको लागतमा समयमै सम्पन्न भएको हो।

प्रधानमन्त्री ओलीले देशभर विकास निर्माणका लहर ल्याउने क्रममा यो सडक पनि समावेश भएको बताए। उनले मेचीदेखि महाकालीसम्म सुरु गरिएका योजनाहरू सम्पन्न गर्ने अभियानमा सरकार लागेको उल्लेख गरे। त्यसक्रममा उनले दमकको बेलडाँगीमा विशाल रंगशाला निर्माण गरिने घोषणा पनि गरे।

प्रधानमन्त्री ओलीले शिक्षा क्षेत्रमा पनि सुधारको प्रयास भइरहेको उल्लेख गर्दै स्वयंसेवी भावनाका साथ सञ्चालन गरिएको नि:शुल्क अनलाइन कक्षाले यस वर्षको एसईई नतिजा १३ प्रतिशतले सुधार भएको तथ्य पनि दोहोर्‍याए।

उक्त कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वमुख्यमन्त्री शेरधन राई र उद्वव थापा लगायतको उपस्थिति रहेको थियो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स