प्रधानमन्त्री ओली र आफ्नो फोटो जोडेर भिडिओ भाइरल गराउने र सेयर गर्नेहरूलाई कारबाही गर्ने झाँक्रीको चेतावनी



Advertisement
Ads

नेकपा (एकीकृत समाजवादी)की नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले डिपफेक भिडिओ बनाउने र भाइरल गराउनेलाई ‘घृणित चरित्रका व्यक्ति’ भन्दै तीव्र आलोचना गरेकी छिन्। केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नै फोटो जोडेर डिपफेक भिडिओ भाइरल भएपछि उनले यस्तो प्रतिक्रिया दिएकी हुन्।

“उनीहरूका छोराछोरीलाई पनि अरूले यसै गरिदेलान्। त्यस्ता घृणित प्रवृत्तिका मान्छेलाई मेरो केही भन्नु छैन,” झाँक्रीले भनिन्।


Advertisement

उनले यस्तो घटना व्यक्तिगत नभई सार्वजनिक विषय भएको बताउँदै कानुनी संरचनामा कमजोरी भएकै कारण यस्ता विकृति फैलिएको तर्क गरिन्। “राज्य भनेको व्यक्ति स्वयं हो। यो घटनामा म पीडित छु, र समाधानका लागि पहल म आफैँ गर्छु,” उनले थपिन्।

सामाजिक सञ्जाललाई नियमन गर्ने कानुन ल्याउने प्रयास हुँदा पनि अभिव्यक्ति स्वतन्त्रताको नाममा रोकिएकोप्रति उनले असन्तोष व्यक्त गरिन्।
“कानुन बनाउने भनेका थियौँ। साथीहरूले लोकतन्त्रका ठूला कुरा गरे। विधेयक नै आउन दिएनन्। अब यस्ता विकृतिको शिकार सबै हुन सक्छन्,” उनले बताइन्।

डिपफेक भिडिओले गलत सूचना फैलाउने मात्र नभई व्यक्तिको चरित्रहत्या र प्रतिष्ठामा ठूलो असर पुर्‍याउने भन्दै उनले चिन्ता व्यक्त गरिन्। झाँक्रीले गलत सामग्री भएको थाहा पाउँदा पाउँदै पनि केही व्यक्तिहरूले सेयर गरेर त्यस्तो प्रवृत्तिलाई प्रश्रय दिएको आरोप लगाइन्। “जसले यस्ता सामग्री सेयर गरेका छन्, ती पहिचान भएका आईडी हुन्। उनीहरूको कमेन्ट पनि आपत्तिजनक छ। मेरो पहिलो निशाना उनीहरू हुन्,” उनले भनिन्।

झाँक्रीले आफ्नो तर्फबाट प्रमाण सङ्कलन भइरहेको र छिट्टै कारबाही प्रक्रिया अघि बढाइने बताइन्। तर, प्रहरीकहाँ उजुरी गर्ने मनसाय नरहेको उनले स्पष्ट पारिन्।

डिपफेक प्रविधि

डिपफेक भनेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको प्रयोग गरी व्यक्तिको अनुहार वा आवाजलाई अर्कै फोटो वा भिडिओमा मिसाएर बनाइने नक्कली सामग्री हो। यस प्रविधिले कुनै पनि व्यक्तिलाई जस्तोसुकै कुरा भनिरहेको वा गरिरहेको देखाउन सक्छ।

हालै प्रधानमन्त्री ओली र झाँक्रीको डिपफेक भिडिओ टिकटकमा भाइरल भएपछि अन्य माध्यमहरूमा पनि फैलिएको छ। यसअघि गायिका समीक्षा अधिकारी, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन), र उपमेयर सुनिता डङ्गोलसमेत यस्तै डिपफेक सामग्रीको शिकार भएका थिए।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर