नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेश पलायन हुने युवाका कारणलाई अवसरभन्दा पनि दृष्टिकोणमा कमी भएको बताएका छन्। तेह्रथुम जिल्लाको लसुनेमा धनरूप स्मृति पार्कको उद्घाटन गर्दै उनले भने, “देशभक्तिको भावना र माटोप्रतिको माया कमि हुनुका कारण विदेश जानको प्रवृत्ति बढ्दै गएको हो।”
प्रचण्डले चिन्ता व्यक्त गर्दै भने, “मलाई लाग्छ कि आजभोलि देशभक्तिको भावना र माटोप्रतिको प्रेम कमजोर भइरहेको छ। हामीले हाम्रो छोराछोरीलाई देशको माया र माटोको माया सिकाएर आफ्नै देशमा आत्मनिर्भर बन्न प्रेरित गर्नुपर्छ, विदेश पठाउन हतार नगरी।”
उनले थपे, “विदेशमा पनि भविष्य स्पष्ट छैन। अहिले अमेरिकामा ट्रम्प राष्ट्रपति बनेपछि हजारौँ प्रवासी विस्थापित भइरहेका छन्। मध्यपूर्वमा पनि नेपालीहरू कति बेला फर्कनुपर्छ, थाहा छैन। त्यसैले हामीले आफ्नै देशमा स्रोत र साधनको सदुपयोग गरेर भविष्यको वातावरण तयार गर्नुपर्छ।”
प्रचण्डले नेपालीहरूको क्षमता र साहसलाई जोड दिँदै भने, “हामीले देशका प्राकृतिक स्रोत र जनशक्तिको उचित प्रयोग गरेर यहींका सम्भावनालाई अवसरमा बदल्नुपर्नेछ।”
अध्यक्ष प्रचण्डले आफू भ्रष्टाचारविरुद्ध सुशासन, सामाजिक विभेद र आर्थिक पछौटेपनविरुद्ध सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा काम गर्दै विभिन्न कार्यक्रमहरूमा सहभागी भइरहेको जानकारी पनि दिए।
















प्रतिकृया