प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक, सञ्चालक, पदाधिकारी तथा व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकले ती समाचार एकपक्षीय, अतिरञ्जित र तथ्यहीन रहेको दाबी गर्दै पूर्ण रूपमा खण्डन गरेको छ।
सोमबार जारी विज्ञप्तिमा बैंकले कर्मचारी सरुवा, कार्य जिम्मेवारी समायोजन, कर्जा असुली, धितो लिलामी सूचना प्रकाशनलगायतका कार्य बैंकिङ व्यवसायका नियमित तथा कानुनसम्मत संस्थागत प्रक्रिया भएको जनाएको छ। यस्ता नियमित गतिविधिलाई पर्याप्त आधार, प्रमाण वा आधिकारिक पुष्टि बिना फरक ढंगले प्रस्तुत गर्नु तथ्यपरक पत्रकारिताको मर्मविपरीत हुने बैंकको भनाइ छ।
बैंकले विगतका केही कर्जा फाइलसम्बन्धी विषयमा अधिकारप्राप्त निकायबाट अनुसन्धान भएको र सम्बन्धित मुद्दा अदालतमा विचाराधीन रहेकाले नियामकीय व्यवस्था र प्रचलित कानुनअनुसार आवश्यक जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण तथा सुधारात्मक उपाय कार्यान्वयन भइरहेको जनाएको छ। भविष्यमा यस्ता कमजोरी दोहोरिन नदिन थप सुदृढ प्रणाली अपनाइने पनि बैंकले उल्लेख गरेको छ।
त्यसैगरी, सञ्चालक समिति तथा व्यवस्थापनका सबै निर्णय नेपाल राष्ट्र बैंकका निर्देशन, प्रचलित कानुन तथा नियामकीय मापदण्डअनुसार नै हुँदै आएको र भविष्यमा पनि सोहीअनुसार सञ्चालन हुने प्रतिबद्धता बैंकले जनाएको छ।
प्रभु बैंकले सञ्चारमाध्यमलाई कुनै पनि समाचार प्रकाशन वा प्रसारणअघि सम्बन्धित पक्षबाट तथ्य पुष्टि गर्न आग्रह गर्दै अनुमान वा अपुष्ट स्रोतका आधारमा समाचार सम्प्रेषण गर्दा वित्तीय प्रणालीप्रति नै अनावश्यक भ्रम सिर्जना हुन सक्ने उल्लेख गरेको छ।
बैंकले निक्षेपकर्ता, कर्जाग्राही, सेयरधनी, ग्राहक तथा लगानीकर्तालाई बैंकसम्बन्धी सूचना वा समाचारका लागि बैंकबाट जारी आधिकारिक सूचना तथा विश्वसनीय स्रोतलाई मात्र आधार बनाउन आग्रह गरेको छ। साथै, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै सत्य, निष्पक्ष र तथ्यमा आधारित पत्रकारितालाई प्राथमिकता दिन सञ्चारमाध्यमसँग अनुरोध गरेको छ।

प्रतिकृया