भ्रष्टाचार र नक्कली शरणार्थी प्रकरणमा मुछिएका मन्त्रीहरूकै बीच ओलीको भाषण जनताले पत्याउन छाडे: वर्षमान पुन

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ३० गते
भ्रष्टाचार र नक्कली शरणार्थी प्रकरणमा मुछिएका मन्त्रीहरूकै बीच ओलीको भाषण जनताले पत्याउन छाडे: वर्षमान पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीलाई सन्तुलित र मर्यादित व्यवहार गर्न सुझाव दिएका छन्।

ललितपुरको कोन्ज्योसोम गाउँपालिका सम्मेलनमा बोल्दै पुनले ओलीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि भ्रष्टाचारको आरोप लगाएको प्रति आपत्ति जनाए। उनले प्रधानमन्त्री पदको गरिमा कायम राख्न ओलीलाई संयमित हुन आग्रह गर्दै, असन्तुलित अभिव्यक्ति दिनु अनुचित भएको बताए।

पुनले ओलीलाई गिरीबन्धुसहित भ्रष्टाचार प्रकरणमा निष्पक्ष छानबिन गर्न चुनौती दिए। उनले प्रचण्ड प्रधानमन्त्री हुँदा आफ्ना नेता, परिवार, वा आफैं अनियमिततामा संलग्न भए छानबिन गर्न खुलेर अपिल गरेको स्मरण गराउँदै ओलीलाई त्यस्तो आँट गर्न आग्रह गरे।

सत्ता र राज्य संयन्त्र दुरुपयोग गर्दै भ्रष्टाचार नगर्ने दाबी गर्ने ओलीको व्यवहारलाई उनले आलोचना गरे। पुनले दायाँबायाँ भ्रष्टाचार र नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका मन्त्री राखेर ओलीले दिएको भाषणलाई जनताले पत्याउन छाडेको टिप्पणी गरे।

पुनले सहकारी ठगी प्रकरणमा ओलीले आफ्ना र कांग्रेसका नेताहरू जोगाउने प्रयास गरिरहेको आरोप लगाए। वर्तमान सरकार गठनपछि भ्रष्टाचार, अनियमितता, र राज्य दोहनमा मिलेमतो बढेको दाबी गर्दै पुनले यस्ता विकृतिविरुद्ध आफ्नो पार्टीले खबरदारी गर्ने बताए।

आगामी २०८४ को निर्वाचनमा कांग्रेस र एमालेबीच गठबन्धन हुने चर्चा चलेको उल्लेख गर्दै पुनले त्यसको सामना गर्न माओवादी तयार रहेको बताए। उनले स्थानीय तह निर्वाचनमा कांग्रेस–एमाले गठबन्धनलाई हराएको स्मरण गराउँदै, माओवादी सही विचार, नेतृत्व र एजेन्डासहितको राजनीतिक विकल्प बनेको दाबी गरे।

पुनका अनुसार, १८ महिना सरकार र ५ महिना प्रतिपक्षमा बसेपछि माओवादीप्रति जनआकर्षण बढ्दै गएको छ। पार्टीलाई सशक्त र जनमुखी बनाउन माओवादी कटिबद्ध रहेको उनले दोहोर्याए।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स