नेकपा एमाले र नेकपाले प्रदेश सरकार गठन तथा सञ्चालनका विषयमा तीन बुँदे सहमति गरेका छन्। शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।
सहमतिपत्रमा पछिल्लो समय प्रदेशसभामा बजेट निर्माणका क्रममा देखिएको असमझदारी, बजेटविहीनताको अवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धाको अन्त्य गर्दै जनताको चाहनाअनुसार राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्रता दिन दुवै दलले सहकार्य गर्ने उल्लेख गरिएको छ।
सहमतिको पहिलो बुँदाअनुसार प्रदेशसभाहरूमा सहकार्य गर्दै संयुक्त सरकार गठन गरिनेछ।
दोस्रो बुँदामा कोशी, बागमती र लुम्बिनी प्रदेशमा संयुक्त सरकारको नेतृत्व नेकपा एमालेले गर्ने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा संयुक्त सरकारको नेतृत्व नेकपाले गर्ने सहमति भएको उल्लेख छ।
यस्तै, मधेस र गण्डकी प्रदेशमा सरकार गठनका विषयमा भने प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरेर सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने सहमति भएको छ।
उक्त सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन्।

प्रतिकृया