नेपाली कांग्रेसले उद्यमशीलता विकासका लागि स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्दै
साना तथा मझौला व्यवसायीका उत्पादनको बजार विस्तार र उद्यमशीलता विकासका लागि नेपाली कांग्रेसले नेपाल स्टार्टअप तथा साना र मझौला व्यवसाय सम्मेलन आयोजना गर्ने भएको छ। यो सम्मेलन नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको पहलमा आगामी माघ १६ र १७ गते काठमाडौंमा हुनेछ।
आर्थिक रुपान्तरण प्रवर्द्धन, लगानी प्रोत्साहन, डिजिटल अर्थतन्त्रको विकास, र युवा उद्यमीलाई सशक्त बनाउँदै उद्यमशीलता विस्तार गर्न यो कार्यक्रम आयोजना गरिएको विभागकी संयोजक तथा केन्द्रीय सदस्य उर्मिला थपलियाले जानकारी दिइन्। उनले भनिन्, “साना तथा मझौला व्यवसायीलाई प्रोत्साहन दिनका लागि सम्मेलन आयोजना गरिएको हो। यसले उद्यमीहरूले सामना गरेका चुनौती र अवसरबारे गहन छलफल गर्न मद्दत गर्नेछ।”
सम्मेलनका लागि नेपाली कांग्रेस र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहमति भएको छ। यस अन्तर्गत ८० वटा स्टलमा मुलुकभरका साना तथा मझौला उद्यमीले उत्पादन गरेका हस्तकला र अन्य सामग्री प्रदर्शन गरिनेछ। महासंघका अध्यक्ष उमेश प्रसाद सिंह र कांग्रेसका विभाग संयोजक थपलियाले सहमति पत्रमा हस्ताक्षर गरेका छन्।
महासंघका अध्यक्ष सिंहले नेपाली वस्तुको प्रवर्द्धनमा कांग्रेसको योगदान सकारात्मक रहेको बताए। “यो सम्मेलनले उत्पादित वस्तुलाई बजारसम्म पुर्याउन सहयोग पुर्याउनेछ,” उनले भने, “मेड इन नेपाल अभियानअन्तर्गत उत्पादित सामग्रीलाई निःशुल्क स्टल उपलब्ध गराउने काम प्रशंसनीय छ। राजनीतिक दलले उद्यमशीलता विकासमा योगदान गर्नु अत्यन्तै महत्त्वपूर्ण छ।”
कार्यक्रममा नेपाली उद्यमशीलताको भविष्य, आर्थिक रुपान्तरणका सम्भावना, र रणनीतिक दृष्टिकोणबारे समूहगत छलफल गरिने संयोजक थपलियाले बताइन्। प्राथमिकताका क्षेत्रका रूपमा नवप्रवर्द्धन र उद्यमशीलता, नेपालमा लगानी, स्टार्टअप तथा एसएमईको भविष्य, कृषि उद्यमशीलताका अवसर र चुनौती, शिक्षा र जनशक्ति विकास, आईटी क्षेत्रको तयारी, महिला उद्यमशीलता, र गैरआवासीय नेपालीको लगानीका विषय समेटिनेछन्।
नेपाली कांग्रेसको यो प्रयासले आर्थिक संरचनामा सुधार ल्याउने र उद्यमशीलताको विकासमार्फत देशको अर्थतन्त्रलाई सबल बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।