राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजकमा नासा सेक्युरिटीज, तीन वर्षमा ७ करोडभन्दा बढी दिने
नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमको आधिकारिक जर्सी प्रायोजकको रूपमा नासा सेक्युरिटीज लिमिटेडले सम्झौता गरेको छ। आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा नासा सेक्युरिटीजको लोगो अंकित नयाँ जर्सी सार्वजनिक गरिएको हो।
जर्सी अनावरण राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले संयुक्त रूपमा गरेका थिए।
क्यानका सचिव पारस खड्काका अनुसार नासा सेक्युरिटीजले जर्सी प्रायोजनका लागि वार्षिक २ करोड ३६ लाख रुपैयाँ भुक्तानी गर्नेछ। तीन वर्षको सम्झौताअनुसार कुल रकम ७ करोड ८ लाख रुपैयाँ पुग्नेछ।
यसअघि, क्यानले २०८१ चैत ११ गते नेपाल पुरुष राष्ट्रिय क्रिकेट टिमको आधिकारिक जर्सी प्रायोजनका लागि पहिलोपटक आह्वान गरेको थियो, तर कुनै पनि कम्पनीले आवेदन दिएका थिएनन्। त्यसपछि २०८२ साउन १३ गते दोस्रो आह्वान गर्दा तीन कम्पनी: नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, एमएडब्ल्यु ग्रुप र नासा सेक्युरिटीजले प्रारम्भिक रूपमा चासो देखाएका थिए।
क्यान स्रोतका अनुसार, एमएडब्ल्यु ग्रुपले तोकिएको जमानत रकम ३० हजार रुपैयाँ नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको दरबारमार्ग शाखामा रहेको क्यानको खातामा जम्मा गरे पनि अन्तिम दिन सम्ममा आवेदन पेश गरेन।
अन्ततः नेपाल लाइफ र नासा सेक्युरिटीज मात्र प्रतिस्पर्धामा सहभागी भएका थिए, जसमा नासाले सबैभन्दा बढी बोलि लगाउँदै तीन वर्षका लागि जर्सी प्रायोजन अधिकार सुरक्षित गरेको हो। यससँगै, आगामी तीन वर्षसम्म नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सीमा नासाको लोगो अंकित रहनेछ।





