सरकारलाई सांसद पराजुलीको प्रश्न, “पोखरा विमानस्थलमा १० अर्ब बढीको भ्रष्टाचार भयो कारबाही गर्ने हिम्मत छ ?”
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको खुलासा गरेका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले २०७१ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थल निर्माण सम्झौता गरेको स्मरण गराए। विमानस्थल २०७९ मा उद्घाटन भए पनि अझै परीक्षण उडान बाहेक सञ्चालनमा नआएको भन्दै उनले सरकारको ध्यानाकर्षण गरे।
सांसद पराजुलीले पोखरा विमानस्थलमा १० अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको तथ्य उजागर भएको बताएका छन्। उनले भने, “२२ अर्ब ऋण सम्झौतासहितको लागतमा निर्माण गरिएको विमानस्थलमा १० अर्बभन्दा बढी भ्रष्टाचार भएको कुरा संसदको लेखा समितिको उपसमितिले बाहिर ल्याएको छ।” यसमा संलग्नलाई कारबाही गर्न सरकारसँग हिम्मत छ कि छैन भनेर उनले प्रश्न गरे।
उनले विमानस्थलको धावन मार्गको लम्बाइ पूरा नगरी भ्रष्टाचारको लिस्ट लामो भएको विषयमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बारम्बार रिपोर्ट गरिरहेको उल्लेख गरे। उनले प्रधानमन्त्रीलाई चुनौती दिंदै भने, “अब भ्रष्टाचारको गन्धले संसारलाई दुर्गन्धित बनाएको छ, तपाईंको कदम के हुनेछ?”
सांसद पराजुलीले न्यायिक छानबिन समिति गठन गर्ने सुझाव दिएका छन्। उनले भने, “उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरेर भ्रष्टाचार र अनियमितताको छानबिन गर्न र ती सबैलाई कानूनी कारबाही गर्न सरकारको प्रतिबद्धता जनाउन हिम्मत छ कि छैन?”