वर्षाले बागमती खोलाको डाइभर्सन बगाएपछि कान्ति लोकपथ अवरुद्ध
हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथ आइतबार बिहानदेखि अवरूद्ध भएको छ। लगातारको वर्षाले बागमती खोलामा बनाइएको डाइभर्सन बगाएपछि सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
भिमफेदी गाउँपालिका–८ (मकवानपुर) र बागमती गाउँपालिका–२ (ललितपुर) को सीमामा रहेको खोलामा निर्माण गरिएको अस्थायी डाइभर्सनमार्फत सवारी सञ्चालन हुँदै आएको थियो। तर बिहान ६:१५ बजे ललितपुरतर्फको डाइभर्सन बगाएपछि सवारी आवतजावत पूर्ण रूपमा रोकिएको हो।
डाइभर्सन बगाएको स्थानमा प्रहरी टोली पुगेको छ र सडक खुलाउने प्रयास भइरहेको छ। हाललाई हेटौंडाबाट काठमाडौं जानुपर्ने यात्रुहरूले वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।