राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले सम्पत्ति शुद्धिकरणसम्बन्धी नीति नयाँ राजनीतिक दलहरूमाथि प्रतिशोध साँध्ने औजारको रूपमा प्रयोग भएको आरोप लगाएका छन्। प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले सरकारको नीति र कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गरे।
ढकालले २०६८ सालको नीति तथा कार्यक्रममा समावेश सम्पत्ति शुद्धिकरण र आर्थिक अपराधसम्बन्धी अंशको स्मरण गराउँदै सोही अवधिमा नेपाल ग्रे लिस्टमा परेको प्रसङ्ग उठाए। तर, उनले प्रश्न उठाए, “त्यो नीति कहाँ प्रयोग भयो भने नयाँ दलको पार्टी सभापतिको सांसद पद खोस्नलाई मात्र।”
सांसद ढकालले वीरगञ्जको कृषि औजार कारखानाको उदाहरण दिँदै विगतका नीति कार्यक्रममा गरिएका वाचा पूरा नभएको टिप्पणी गरे। “६८ सालमा रुचि गुमाएका उद्योग उत्थानका लागि कार्यक्रम ल्याइन्छ भनिएको थियो,” उनले भने, “तर आज महावीर पुन जस्ता व्यक्तिले किताब बेचेर कारखाना चलाउने संघर्ष गर्नुपरेको छ।”
नीति तथा कार्यक्रममा गरिएका कामहरुको उल्लेख नभएको भन्दै उनले सरकारप्रति व्यंग्य गरे। उनले भने, “नयाँ दलहरूमाथि राजनीतिक प्रतिशोध साँधिन्छ। रवि लामिछाने, डा. सिके राउत, रेशम चौधरीलाई अवैधानिक रूपमा नियन्त्रणमा लिइन्छ भनेर लेखेको भए हुन्थ्यो। राष्ट्रको व्यापक दलीकरण, संवैधानिक निकायको कब्जा पनि उल्लेख भएको भए हुन्थ्यो।”
राष्ट्र बैंक र धितोपत्र बोर्डमा भएको राजनीतिक भागबन्डाबारे पनि ढकालले आक्रोश व्यक्त गरे। “राष्ट्र बैंक कांग्रेसको भागमा, धितोपत्र बोर्ड एमालेको भागमा भन्ने गरी बहस हुन्छ। अनुत्पादक क्षेत्रमा लगानी खोजी खोजी गरिन्छ। भ्यू टावर भने मज्जासँग बनाइन्छ। त्यो पनि लेखेको भए हुन्थ्यो,” उनले व्यङ्ग्य गरे।
२९ महिनासम्म संसदमा उठाएका विषयहरू नीति तथा कार्यक्रममा नसमेटिएको गुनासो गर्दै उनले यसपटक कुनै सुझाव नदिने घोषणा गरे। “२९ महिनादेखि विज्ञताको आधारमा सुझाव दिएका थियौँ,” उनले भने, “तर गठबन्धनका दलहरूले ती बहसको अपनत्व लिँदैनन् भने अब म यो सरकारलाई सुझाव दिन्न।”














![नेपाली सेयर बजार अब कता ?, नेप्से बढ्छ कि घट्छ ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/maxresdefault-1.jpg?resize=150%2C150&ssl=1)


प्रतिकृया