समृद्ध नेपाल निर्माणका लागि पैसासँगै बुद्धि, विवेक र सीपमा लगानी आवश्यक छ: अध्यक्ष ढकाल

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २८ गते
समृद्ध नेपाल निर्माणका लागि पैसासँगै बुद्धि, विवेक र सीपमा लगानी आवश्यक छ: अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक समृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्ने स्पष्ट धारणा व्यक्त गरेका छन्। महासंघको ५९औं वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवस २०८१ को उद्घाटन समारोहमा बोल्दै उनले सरकारले अघि सारेको समृद्धिको लक्ष्य प्राप्त गर्न निजी क्षेत्रलाई स्वतन्त्र र निर्बाध रूपमा काम गर्न दिने वातावरण सिर्जना गर्नु आजको पहिलो प्राथमिकता हुनुपर्ने बताएका हुन्।

अध्यक्ष ढकालले अर्थतन्त्र, विकास र समृद्धिका विषयमा सबै राजनीतिक दलहरूको साझा दृष्टिकोण आवश्यक रहेको औंल्याउँदै अर्थतन्त्रलाई कुनै पनि राजनीतिक वादले प्रभावित गर्न नहुने उल्लेख गरे। समृद्ध नेपाल निर्माणका लागि पैसासँगै बुद्धि, विवेक र सीपको लगानी जरुरी रहेको उनको भनाइ थियो।

उनले लगानीमार्फत उत्पादन प्रवर्द्धन हुने, श्रम र सीपको माग बढ्ने र समग्र अर्थतन्त्रमा चैतन्यता आउने बताए। विगतमा सरकारले अत्यधिक सतर्कता अपनाउँदा अर्थतन्त्र संकुचित भएको उल्लेख गर्दै उनले ती नीतिगत निर्णयहरूले आजसम्म पनि बजारलाई चलायमान बन्न नदिएको धारणा व्यक्त गरे।

“हामी निराश होइन, आशावादी बन्न चाहन्छौं,” उनले भने, “तर देशभित्र उच्च र मर्यादित रोजगारी सिर्जना गर्न नसक्दासम्म युवाहरूको निराशा अन्त्य हुँदैन।”

हालका सुधारात्मक प्रयासहरूको स्वागत गर्दै ढकालले ती सुधारहरू अझै युवाहरूको आकांक्षा पूरा गर्न पर्याप्त नभएको बताए। नेपालभित्रै उच्च ज्यालासहित मर्यादित रोजगारीका अवसर सिर्जना नगरेसम्म युवाको निराशा अन्त्य नहुने उनको स्पष्ट धारणा थियो।

पछिल्ला दुई वर्षमा भारत, चीन र यूएईमा सम्पन्न चार सम्मेलनको अनुभव सुनाउँदै उनले विदेशी लगानीकर्ताहरू नेपालप्रति उत्साहित देखिएको जानकारी दिए। नेपाल अमेरिकी बजारमा प्रतिस्पर्धी मुलुकहरूको तुलनामा कम भन्सार दरको फाइदा लिन सक्ने अवस्थामा रहेकाले यसको सदुपयोग गर्नुपर्ने उनको भनाइ थियो।

ढकालले निजी क्षेत्रबाट स्थापित ‘नेपाल डेभलपमेन्ट कम्पनी’मार्फत ७७ वटै जिल्लाका साना पूँजी एकत्रित गरी ठूला परियोजनामा लगानी गर्ने वातावरण बनाइएको जानकारी दिए।

उनका अनुसार पछिल्लो समय सरकारले केही महत्वपूर्ण नीतिगत सुधार गर्दै आर्थिक सुधारको नयाँ चरणको थालनी गरिसकेको छ। तर, निजी क्षेत्रले देशको कुल रोजगारीको ८६ प्रतिशत, ८० प्रतिशतभन्दा बढी प्रत्यक्ष तथा अप्रत्यक्ष राजस्व योगदान, र ८१ प्रतिशत लगानी गरे पनि अझैसम्म अपेक्षित सम्मान र सुरक्षाको प्रत्याभूति नभएको गुनासो गरे।

“हामीले सुरक्षाको विषय उठाएका हौं, सम्मानको विषय उठाएका हौं, मर्यादाक्रमको विषय उठाएका हौं,” उनले भने, “यसमा राज्यको कुनै खर्च हुँदैन, केवल सद्भाव आवश्यक छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स