८ कम्पनीको वार्षिक साधारण सभा आज बस्ने भएको छ । चन्द्रागिरी हिल्स लिमिटेड, नेपाल हाइड्रो डेभलपर्स, तारागाउँ रिजेन्सी होटल्स, चिरख्वा हाइड्रोपावर , पञ्चकन्या माई हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर कम्पनी, बोटलर्स नेपाल (बालाजु) र बोटलर्स नेपाल (तराई)को वार्षिक साधारण सभा आज बस्न लागेको हो
चन्द्रागिरी हिल्स लिमिटेडले १६औँ वार्षिक साधारण सभा बटम स्टेशन परिसर, थानकोट काठमाडौंमा साधारण सभा बोलाएको छ। सभा बिहान ११ बजे सुरु हुनेछ। सभामा हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस सेयर तथा सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। साथै, बोनस सेयर वितरणपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।
यसका साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, प्रभु बैंकबाट नयाँ परियोजना निर्माणका लागि लिएको कर्जा अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका महत्वपूर्ण प्रस्तावहरू पनि सभाले पारित गर्नेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ११ गते बुकक्लोज गरिसकेको छ। जसअनुसार पुस ९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीले साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
नेपाल हाइड्रो डेभलपर्स लिमिटेडले १९औँ वार्षिक साधारणसभा काठमाडौँको भाटभटेनीस्थित अम्रपाली बैंक्वेटमा बोलाएको छ। सभा बिहान ११ बजे सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ९ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनको लागि ०.४७ प्रतिशत नगद लाभांश गरि कुल ९.४७ प्रतिशत लाभांश वितरण गर्ने लाभांश गरेको हो। उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ७ गते बुक क्लोज गरिसकेको छ। जसअनुसार पुस ६ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले २९औँ वार्षिक साधारण सभा काठमाडौंस्थित आर्मी अफिसर्स क्लब, भद्रकालीमा बोलाएको छ। सभा बिहान ११ बजे सुरु हुनेछ । सभामा हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले नगद लाभांश (करबाहेक) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन, लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस ७ गतेदेखि १८ गतेसम्म गरिसकेको छ। जसअनुसार पुस ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
चिरख्वा हाइड्रोपावर लिमिटेडले ७औँ वार्षिक साधारणसभा कुण्डलिनी रोयल्स जोरपाटी, काठमाडौंमा बोलाएको छ। सभा बिहान १० बजे सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात् १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
त्यस्तै, सभाले हकप्रद निष्काशनसम्बन्धि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, उपयुक्त आयोजनाको पहिचान गरी लगानी अथवा विकास गर्ने, कम्पनीको ऋण भुक्तानी गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।साधारण सभाका लागि कम्पनीले पुस १३ गते बुक क्लोज बुकक्लोज गरिसकेको छ। जसअनुसार पुस १२ गतेसम्म नप्सेमा कारोबार भई कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले आफ्नो नवौँ तथा दशौँ वार्षिक साधारणसभा ललितपुरको कुपण्डोल ब्याङ्क्वेट, कुपण्डोलमा बोलाएको छ। सभा बिहान ११ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ का वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ भने आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गरिनेछ।
साथै कम्पनीको संस्थापक समूहबाट प्रतिनिधित्व हुने १ जना महिला सहित ४ जना सञ्चालकको निर्वाचन पनि हुनेछ।साधारण सभाको प्रयोजनका लागि कम्पनीले पुस १४ गते बुक क्लोज गरिसकेको छ। जसअनुसार पुस १३ गतेसम्म नप्सेमा कारोबार भई कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले १८औँ वार्षिक साधारणसभा बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा बोलाएको छ। सभा बिहान ११ बजे सुरु हुनेछ । सभाले १ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ। सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षित वित्तीय विवरणहरू उपर छलफल गरी पारित गरिनेछ।
साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश गरिनेछ। साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस ११ गते बुक क्लोज गरिसकेको छ। जसअनुसार नेप्सेमा पुस ९ गतेसम्म कायम सेयरधनी मात्र साधारणसभामा सहभागी हुन योग्य हुनेछन्।
साथै , बोटलर्स नेपालका दुई कम्पनी बोटलर्स नेपाल (बालाजु) र बोटलर्स नेपाल (तराई)ले वार्षिक साधारणसभा काठमाडौँको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बोलाएको छ। बोटलर्स नेपाल (तराई) को साधारण सभा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ भने बोटलर्स नेपाल (बालाजु) को सभा दिउँसो ३ बजेदेखि सुरु हुनेछ।
गत आर्थिक वर्षका लागि सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय भएकाले दुवै कम्पनीको सभामा लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश हुने छैन।सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहित वित्तीय विवरणहरू पारित गरिनेछ। साथै, बोटलर्स नेपाल (बालाजु) को सभाबाट स्वतन्त्र सञ्चालकका रूपमा सिद्धान्त राज पाण्डेको नियुक्ति अनुमोदन गर्नुका साथै एक जना सर्वसाधारण सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गरिनेछ।
दुवै कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस ११ गते बुक क्लोज गरिसकेको छ। जसअनुसार नेप्सेमा पुस १० गतेसम्म कायम सेयरधनी मात्र साधारणसभामा सहभागी हुन योग्य हुनेछन्।
















![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया