नेपाल भ्रमणमा रहेका जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (JICA) का अध्यक्ष डा. तनाका अकिहिकोले मंगलबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका छन्। भेटका क्रममा डा. तनाकाले नयाँ सरकारका प्राथमिकताबारे चासो व्यक्त गर्दै जापान नेपालसँग विकास साझेदारीलाई थप सुदृढ बनाउन इच्छुक रहेको बताएका थिए।
जवाफमा अर्थमन्त्री वाग्लेले सरकारले हालै सार्वजनिक गरेको बजेटका प्राथमिकताबारे जानकारी दिँदै सुशासनमार्फत सार्वजनिक सेवा प्रवाह सुधार, निजी क्षेत्रका लागि व्यवसायमैत्री वातावरण निर्माण तथा आर्थिक सुधारलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए। उनले नेपालको भौतिक पूर्वाधार, सामाजिक क्षेत्र तथा मानव संसाधन विकासमा जापानले पुर्याएको योगदानको प्रशंसा पनि गरे।
यसैबीच, अर्थ मन्त्रालयमा मानव संसाधन छात्रवृत्ति कार्यक्रमसम्बन्धी आदान–प्रदान पत्र र अनुदान सम्झौतामा हस्ताक्षर भएको छ। आदान–प्रदान पत्रमा अर्थ सचिव डा. घनश्याम उपाध्याय र नेपालका लागि जापानी राजदूत माएदा तोरुले हस्ताक्षर गरेका छन् भने अनुदान सम्झौतामा अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका सहसचिव डा. धनिराम शर्मा र JICA नेपाल कार्यालयका प्रमुख प्रतिनिधि मात्सुजाकी मिजुकीले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार जापान सरकारले नेपाललाई ४१० मिलियन जापानी येन बराबरको अनुदान उपलब्ध गराउनेछ। उक्त सहयोगबाट नेपाल सरकारको निजामती सेवामा कार्यरत जनशक्तिलाई जापानका प्रतिष्ठित विश्वविद्यालयमा स्नातकोत्तर तथा विद्यावारिधि (PhD) अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिनेछ। यस कार्यक्रमले नेपालको सार्वजनिक क्षेत्रमा नीति निर्माण तथा विकास व्यवस्थापनसम्बन्धी दक्षता अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
















![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया