समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीका १३५ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका अनुसार ऋण असुलीबाट प्राप्त रकम बचतकर्तालाई फिर्ता गरिएको हो।
रकम फिर्ता पाउनेमा शिवशिखर सहकारीका ५७ जना, कान्तिपुर सहकारीका ५२ जना, ओरिन्टल को–अपरेटिभका ८ जना, तुलसी बहुमुखी सहकारीका ९ जना र आइडियल यमुना सहकारीका ९ जना साना बचतकर्ता रहेका छन्।
समितिका अनुसार समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम सम्बन्धित सहकारीका बचतकर्तालाई फिर्ता गर्ने कार्य भइरहेको छ।
पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई प्राथमिकताका साथ रकम फिर्ता गरिएको समितिले जनाएको छ। अब बचत रकमका आधारमा बचतकर्तालाई वर्गीकरण गर्दै क्रमशः रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइनेछ।
समितिले प्रचलित कानुनी व्यवस्थाबमोजिम समस्याग्रस्त सहकारीबाट ऋण असुली र सम्पत्ति व्यवस्थापन गरी प्राप्त रकमबाट सम्बन्धित बचतकर्ताको बचत फिर्ता गर्ने कार्य निरन्तर सञ्चालन भइरहेको जनाएको छ।

प्रतिकृया