नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले आर्थिक वर्ष २०८२/८३ का लागि ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले लाभांश पारित गर्न असोज २३ गते आठौँ वार्षिक साधारणसभा बोलाएको छ।
बैंकको असोज १ गते बसेको सञ्चालक समितिको १९३औँ बैठकले साधारणसभा असोज २३ गते शुक्रबार काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा बिहान ९ बजे बस्ने निर्णय गरेको हो।
बैंकको हाल कायम चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको ५.२६३२ प्रतिशतले हुने १ अर्ब १३ करोड ६८ लाख ५१ हजार २०० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेस गरिनेछ। उक्त रकममा लाभांश करसमेत समावेश छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति तथा साधारणसभाबाट पारित भएपछि कम्पनी ऐन, २०६३ को दफा १८२(२) बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति प्राप्त भएपछि मात्र वितरण गरिने बैंकले जनाएको छ।
असोज १४ गते बुक क्लोज
साधारणसभा प्रयोजनका लागि बैंकले असोज १४ गते एक दिन सेयरधनी दर्ता किताब बन्द अर्थात् बुक क्लोज गर्ने भएको छ। असोज १३ गतेसम्म नेपाल स्टक एक्सचेन्जमार्फत कारोबार भई बैंकको सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटलमा प्राप्त सेयर नामसारीका आधारमा कायम सेयरधनीले साधारणसभामा भाग लिन तथा मतदान गर्न पाउनेछन्।
सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्ने तथा आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत छलफल गर्नेछ।
यसैगरी, सर्वसाधारण सेयरधनी समूहबाट निर्वाचित सञ्चालक लिमा अधिकारी आचार्यले राजीनामा दिएपछि सोही समूहको प्रतिनिधित्व गर्ने गरी सञ्चालक समितिले नियुक्त गरेकी अनिता रायमाझीको नियुक्ति बाँकी कार्यकालका लागि अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।

प्रतिकृया