नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा १९.९८ प्रतिशतले घटेर ९८ करोड ७३ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब २३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
ब्याज खर्चमा भएको वृद्धि र खुद ब्याज आम्दानीमा गिरावट आएका कारण नाफा घटेको हो। यद्यपि २१ करोड २७ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज रिभर्स भएकाले नाफामा थप ठूलो गिरावट हुनबाट जोगिएको छ।
चौथो त्रैमाससम्ममा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको खुद ब्याज आम्दानी २३.८८ प्रतिशतले घटेर १ अर्ब ४५ करोड रुपैयाँमा आएको छ भने सञ्चालन आम्दानी २१.७२ प्रतिशतले घटेर १ अर्ब ५० करोड रुपैयाँमा सीमित भएको छ। यता, अघिल्लो वर्ष १८ करोड रुपैयाँ रिभर्स रहेको इम्पेयरमेन्ट चार्ज समीक्षा अवधिमा २१ करोड २७ लाख रुपैयाँ रिभर्स भएको छ।
बैंकको खराब कर्जा अनुपात शून्य ‘शून्य’ प्रतिशत कायम रहेको छ।
समीक्षा अवधिमा बैंकले ७ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३१ अर्ब ४२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
बैंकको चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब ७२ करोड रुपैयाँ सञ्चित रहेको छ। बैंकको प्रतिसेयर आम्दानी १.१४ रुपैयाँले घटेर ४.५७ रुपैयाँमा आएको छ। यस्तै, प्रतिसेयर नेटवर्थ ११७.२२ रुपैयाँ रहेको छ।
यसका अतिरिक्त वित्तीय सूचकहरू हेर्दा, बैंकको कस्ट अफ फन्ड्स ६.५१ प्रतिशतबाट घटेर ६.४६ प्रतिशतमा झरेको छ भने बेस रेट ६.९७ प्रतिशतबाट घटेर ६.७७ प्रतिशत कायम भएको छ। बैंकको कर्जा-निक्षेप अनुपात (सिडी रेशियो) १४.६७ प्रतिशतबिन्दुले बढेर ७९.९२ प्रतिशत पुगेको छ। समीक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात (P/E Ratio) ५३.७३ गुणा रहेको छ भने कुल सम्पत्ति ४१ अर्ब ८४ करोड रुपैयाँ कायम रहेको छ।
बैंकको व्यवस्थापन विश्लेषणका अनुसार, बैंकले ठूला पूर्वाधार आयोजनाहरूमा लगानी विस्तार गर्ने र स्रोत परिचालनलाई प्रभावकारी बनाउने रणनीति लिएको छ । आन्तरिक चुनौतीका रूपमा ब्याजदरको उतारचढाव र तरलता व्यवस्थापन लाई लिइएको छ भने बाह्य चुनौतीका रूपमा विश्वव्यापी आर्थिक अस्थिरता र इन्धनको मूल्य वृद्धिलाई औंल्याइएको छ । बैंकले हाइड्रोपावर, सौर्य ऊर्जा र औद्योगिक पूर्वाधार जस्ता क्षेत्रमा आफ्नो पोर्टफोलियो विविधीकरण गरिरहेको छ ।
प्रतिकृया