विदेशी नागरिकता लिए पनि नेपाली नागरिकता खारेज नगरौँ: ज्ञानेन्द्र शाही
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले वंशजका आधारमा प्राप्त गरिएको नेपाली नागरिकता कुनै विदेशी नागरिकता लिएको कारणले स्वतः खारेज हुनु नहुने बताएका छन्। शुक्रबार सिंहदरबारमा बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुँदै गर्दा शाहीले यस्तो धारणा राखेका हुन्।
उनका अनुसार ऐनले वंशजको नागरिकता प्राप्त गरिसकेका व्यक्तिले विदेशमा गएर अर्को देशको नागरिकता लिएको खण्डमा नेपाली नागरिकता स्वतः खारेज हुने व्यवस्था गरेको छ, जसले देशमा फर्केर लगानी गर्न चाहने युवाहरूलाई रोकिएको छ।
शाहीले भने, “०६३ सालको नागरिकता ऐनले विदेशी नागरिकता लिएपछि नेपाली नागरिकता स्वतः खारेज हुने व्यवस्था गरेको छ, जसका कारण देश फर्किन चाहने युवाहरूलाई नेपाल आउनै नदिने अवस्था बन्यो। उनीहरूलाई सदाका लागि विदेशी बनाइयो।”
उनले थपे, “उनीहरूले विदेशमा बसेर अर्बौं रुपैयाँ कमाए पनि नेपालमा लगानी गर्न पाउने अवस्था छैन। आफ्ना पुर्खाले बनाएको देशमा फर्केर केही गर्न चाहँदा उनीहरूलाई रोकिएको छ। यस्तो कानुन राष्ट्रघाती हो। वंशजका आधारमा प्राप्त नागरिकता खारेज गर्नु अन्याय हो, यस्ता व्यवस्था हटाइनुपर्छ।”