ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले काठमाडौं उपत्यकामा भाडामा बसेर अध्ययन गरिरहेका लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्गका विद्यार्थीलाई विद्युतीय चुलो उपलब्ध गराउने भएको छ। केन्द्रले स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत ३०० जना योग्य विद्यार्थीबाट विद्युतीय चुलोका लागि माग संकलन गर्न आवेदन आह्वान गरेको हो।
काठमाडौं उपत्यकामा एलपी ग्यासको उपलब्धतामा देखिएको समस्याका बीच विद्यार्थीलाई सांकेतिक राहत प्रदान गर्न, स्वदेशमै उत्पादित स्वच्छ ऊर्जाको खपत बढाउन तथा विद्युतीय चुलोको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको केन्द्रले जनाएको छ। उपत्यकाबाहिरबाट काठमाडौं आएर कोठा भाडामा लिई स्नातक वा स्नातकोत्तर तहमा अध्ययन गरिरहेका लोपोन्मुख आदिवासी जनजाति तथा दलित समुदायका विद्यार्थीले कार्यक्रममा सहभागी हुन सक्नेछन्।
विद्युतीय चुलो लिन इच्छुक विद्यार्थीले २०८३ असोज ८ गते दिउँसो २ बजेसम्म केन्द्रको अनलाइन आवेदन पोर्टल मार्फत फाराम भर्नुपर्नेछ। आवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, अध्ययनरत शिक्षण संस्थाको सिफारिस, विद्यार्थी परिचयपत्र तथा लोपोन्मुख आदिवासी जनजाति वा दलित वर्ग खुल्ने परिचयपत्रको प्रतिलिपि वा सम्बन्धित निकायको सिफारिसपत्र अनिवार्य रूपमा अपलोड गर्नुपर्नेछ।
केन्द्रले अनलाइन फाराम मात्र भरेर आवश्यक कागजात पेश नगर्ने विद्यार्थीको आवेदन छनोट प्रक्रियामा समावेश नगरिने स्पष्ट पारेको छ। सम्बन्धित निकाय वा स्थानीय तहबाट विपन्नता खुल्ने सिफारिस पेश गरेका तथा सरकारी वा सामुदायिक शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीलाई छनोटमा प्राथमिकता दिइनेछ। शिक्षण संस्थाको सिफारिसको ढाँचा केन्द्रको आधिकारिक वेबसाइट बाट डाउनलोड गर्न सकिनेछ।


प्रतिकृया