स्रोत अभावका कारण राष्ट्रसेवक कर्मचारीको तलब बढेन, महँगी भत्ता भने बढ्यो
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत राष्ट्रसेवक कर्मचारीको तलब प्रत्यक्ष रूपमा नबढाए पनि महँगी भत्ता वृद्धि गर्ने निर्णय गरेको छ। हाल दुई हजार रुपैयाँ रहेको महँगी भत्ता साउन महिनादेखि बढाएर पाँच हजार रुपैयाँ पुर्याइनेछ, जसले कर्मचारीको मासिक तलबमा तीन हजार रुपैयाँको थप भार दिनेछ। यो भत्ता सबै पदका स्थायी कर्मचारीहरूलाई समान दरमा लागू हुनेछ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमा स्रोत व्यवस्थापनमा परेको दबाबका कारण तलब वृद्धि सम्भव नभएको उल्लेख गर्दै महँगी भत्ता बढाउनु परेको बताए। तलब नबढाइ महँगी भत्ता बढाउने निर्णयबाट विशेष गरी तल्लो तहका कर्मचारीहरूलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।
यद्यपि, महँगी भत्ता वृद्धिको लाभ भने केवल बहाल रहेका स्थायी कर्मचारीहरूलाई मात्र हुनेछ। राज्य कोषबाट पेन्सन बुझ्ने पेन्सनवालाहरू र करारमा रहेका कर्मचारीहरूले यस सुविधाको लाभ पाउने छैनन्।
गत तीन वर्षदेखि राष्ट्रसेवकको तलब नबढेको अवस्था रहेको छ। अघिल्लो पटक आर्थिक वर्ष २०७९ मा सरकारले कर्मचारीको तलब १५ प्रतिशतले बढाएको थियो। औसतमा प्रत्येक दुई वर्षमा तलब समायोजन हुने प्रचलन भए पनि यसपटक स्रोत अभावका कारण सरकार तलब वृद्धि गर्न असमर्थ देखिएको छ। त्यसैले सरकारले महँगी भत्ता बढाएर कर्मचारीहरूलाई अप्रत्यक्ष राहत दिने प्रयास गरेको छ।