दिव्यश्वरी हाइड्रोपावर लिमिटेडको अघिल्लो दुई आर्थिक वर्षको वार्षिक साधारणसभा आज दिउँसो १ बजेदेखि पुरानो बानेश्वरस्थित मैतीदेवी सेतोपुल नजिक रहेको अन्नपूर्ण पार्टी भेन्यूमा बस्दैछ। यसअघि जेठ २२ गतेका लागि बोलाइएको सभा गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको थियो। यस पटकको सभामा कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव भने पेश गरेको छैन।
प्रमुख एजेण्डामा चुक्ता पूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव रहेको छ, जसका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियार प्रदान गरिनेछ। त्यस्तै, समान उद्देश्य भएका अन्य कम्पनीसँग मर्जर गर्ने र त्यसका लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न पनि सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव छ।
सभामा अघिल्ला दुई आर्थिक वर्षका वित्तीय विवरण पारित गर्ने, चालू आवको लागि लेखापरीक्षक नियुक्त गर्ने, अघिल्लो आवको लेखापरीक्षकको नियुक्ति अनुमोदन गर्ने, साथै सञ्चालक समितिको पदपूर्ति र स्वतन्त्र सञ्चालकको नियुक्ति सम्बन्धी प्रस्तावहरू पनि प्रस्तुत गरिनेछन्। सभा प्रयोजनार्थ कम्पनीले जेठ ८ गते बुक क्लोज गरिसकेकोले, जेठ ७ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र सभामा भाग लिन योग्य छन्।




















प्रतिकृया