नागरिक लगानी कोषले आफ्नो ३१औँ वार्षिक साधारण सभा पुस ३० गते गर्ने भएको छ। कोषको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले केन्द्रीय कार्यालयमा बिहान ११ बजे साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो।
साधारण सभाले सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
त्यसैगरी, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू पनि सभाले पारित गर्नेछ।
सभामा कोषको सञ्चालक समितिमा एक जना सर्वसाधारण सेयरधनीको निर्वाचन गर्नुका साथै साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न सेयरधनी र सञ्चालकको तर्फबाट एक–एक जना प्रतिनिधि नियुक्त गर्ने प्रस्ताव पनि रहेको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कोषले पुस २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार, पुस २० गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।




















प्रतिकृया