अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले बजेटमार्फत घोषणा गरेका आर्थिक सुधारहरू कार्यान्वयनको चरणमा रहेको र पुँजी बजार सुधार पनि समानान्तर रूपमा अगाडि बढिरहेको बताएका छन्। उद्योगी, व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिसँगको विशेष छलफलमा उनले सरकारले लगानीमैत्री वातावरण निर्माण, कानुनी सुधार र निजी क्षेत्रसँगको सहकार्यलाई उच्च प्राथमिकतामा राखेको बताए।
“बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारहरूको कार्यान्वयन पनि तीव्र गतिमा अघि बढिरहेको छ। आवश्यक कानुनी संशोधन, नियमावली, कार्यविधि तथा संस्थागत सुधारलाई समयबद्ध तालिका (Timeline) अनुसार कार्यान्वयन गरिनेछ। पुँजीगत खर्चको गति बढाउने, आयोजना कार्यान्वयनलाई तीव्र बनाउने, पूँजी बजार र वित्तीय क्षेत्र सुदृढ गर्ने काम समानान्तर रूपमा अघि बढिरहेका छन्।” डा. वाग्लेले भने।
अर्थ मन्त्रालयद्वारा आयोजित विशेष छलफल कार्यक्रममा सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सरकार र निजी क्षेत्रबीच नयाँ कार्यसंस्कृतिको सुरुआत गर्न खोजिएको बताए। उनले विगतमा समस्या मात्रै गन्ने परम्परा रहेको उल्लेख गर्दै अब समाधानमुखी ढंगले काम गर्ने समय आएको बताए।
उनले बजेट निर्माणका क्रममा उद्योगी, व्यवसायी, बैंकिङ क्षेत्र, लगानीकर्ता, युवा उद्यमी तथा विभिन्न निजी क्षेत्रका प्रतिनिधिसँग निरन्तर छलफल गरेर प्राप्त सुझावकै आधारमा बजेटमा संरचनागत सुधारका कार्यक्रम समेटिएको बताए।
डा. वाग्लेले सरकारले अनावश्यक र पुराना कानुन हटाउने, लगानीको वातावरण सुधार्ने, कर प्रणालीलाई सरल र पारदर्शी बनाउने, व्यवसाय गर्न सहज बनाउने, पूँजी बजार तथा वैकल्पिक वित्तीय साधन विस्तार गर्ने, श्रम बजार व्यवस्थित गर्ने र डिजिटल प्रशासनलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित काम गरिरहेको बताए। यसै वर्ष अर्थतन्त्रसँग प्रत्यक्ष सम्बन्धित ४२ वटा ऐन खारेज वा संशोधन गर्ने प्रक्रिया पनि अघि बढाइएको उनले जानकारी दिए।
अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री स्वयं निजी क्षेत्रका विषयमा गम्भीर रहेको र मुख्य विषयहरूमा निरन्तर फलोअप भइरहेको पनि बताए। सरकारको आर्थिक टोली स्वदेशी तथा विदेशी लगानी बढाएर उद्योग विस्तार र उत्पादन वृद्धि गर्न सक्ने वातावरण बनाउने निष्कर्षमा पुगेको उनको भनाइ थियो।
उनले सरकारको भूमिका उद्योग सञ्चालन गर्ने नभई उद्योगी–व्यवसायीलाई सहज रूपमा लगानी र व्यवसाय गर्न सक्ने वातावरण तयार गर्नु रहेको स्पष्ट पारे।
कार्यक्रममा उनले निजी क्षेत्रसँग उत्पादन लागत किन बढी छ, उद्योगहरू पूर्ण क्षमतामा किन सञ्चालन हुन सकेका छैनन्, नयाँ लगानी किन रोकिएको छ तथा जग्गा, बिजुली, श्रम, ढुवानी, वित्त, कच्चा पदार्थ र बजारसँग सम्बन्धित प्रमुख समस्या के-के छन् भन्नेबारे खुला रूपमा सुझाव दिन आग्रह गरे।
अर्थमन्त्री वाग्लेले छलफलमा उठेका जायज विषयलाई सम्बन्धित मन्त्रालय तथा निकायसँग तत्काल समन्वय गरेर समाधान गर्न अर्थ मन्त्रालयमा उच्च प्राथमिकताका साथ ‘Response Desk’ स्थापना गरिने जानकारी पनि दिए।
“अब फाइल थन्किने होइन, द्रुत गतिमा निर्णय र समाधान हुने कार्यसंस्कृतिको विकास गरिनेछ।” उनले भने।
उनले बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारहरू समयबद्ध रूपमा कार्यान्वयन गरिने र आवश्यक कानुनी संशोधन, नियमावली तथा संस्थागत सुधार पनि निर्धारित तालिकाअनुसार अघि बढाइने बताए।
अन्त्यमा उनले उद्योगी–व्यवसायीलाई आत्मविश्वासका साथ लगानी बढाउन, उत्पादन विस्तार गर्न, नयाँ उद्योग स्थापना गर्न र रोजगारी सिर्जना गर्न आग्रह गर्दै सरकारले सुधारको गति अझ तीव्र बनाउँदै निजी क्षेत्रसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रतिकृया