वर्षमान पुनले भने, “८४ सालअघि नै माओवादी सरकारमा जानुपर्ने हुनसक्छ”
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले पार्टी २०८४ सालसम्म सरकारमा नजाने अडान लिए पनि आवश्यक परे सरकारमा जानुपर्ने अवस्था आउन सक्ने संकेत दिएका छन्। बिहीबार सिन्धुपाल्चोकको चौतारामा आयोजित वाईसिएल नेपालको पाँचौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै पुनले व्यवस्थामाथि नै प्रश्न उठिरहेको अवस्थामा त्यसलाई जोगाउन माओवादी केन्द्र सरकारमा सहभागी हुन सक्ने बताएका हुन्।
‘हामीले २०८४ सालसम्म सरकारमा नजाने भनेका थियौं, तर ओली सरकारले व्यवस्था जोगाउन सकेन भने हामी सरकारमा जानुपर्ने हुन सक्छ,’ पुनले स्पष्ट पारे। ‘त्यतिबेला ८४ पर्खेर बस्ने भन्ने हुँदैन, सरकारमा गएर जनताको काम गर्ने, जनपक्षीय माओवादी धार बनाउने र आगामी चुनावको तयारी गर्ने काम हुनेछ।’
उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई चौतर्फी रूपमा असफल भन्दै अब ढल्नमात्र बाँकी रहेको बताए। पुनले ओली सरकार बिचौलियाहरूको दबदबा रहेको सरकार भएको आरोप पनि लगाए। ‘बिचौलियाहरूले बनाएको सरकार हो, अहिले ती बिचौलियाहरू राष्ट्र बैंक कब्जा गर्न अर्बौंको डिल गरिरहेका छन्, त्यसैले अहिलेसम्म गभर्नर नियुक्त हुन सकेको छैन,’ उनले दाबी गरे।
पुनले सरकारमा गए पनि माओवादी केन्द्रले जनताको पक्षमा काम गर्ने र २०८४ को चुनावको तयारी गर्ने बताए। साथै उनले आगामी चुनावमा माओवादी केन्द्र एक्लै चुनाव लड्ने स्पष्ट संकेत दिएका छन्। ‘कांग्रेस–एमालेसँग मिल्दा कमजोर भयौं, अब त्यो गल्ती दोहोरिँदैन। कार्यनीतिक सहकार्य हुन सक्छ, तर रणनीतिक रूपमा हामी छुट्टै धारमा रहनेछौं,’ उनले भने।
एमालेभित्र ओली प्रवृत्ति कायम रहँदासम्म कम्युनिस्ट एकता सम्भव नभएको उल्लेख गर्दै, एमालेभित्रका इमानदार नेतासहित अन्य कम्युनिस्ट घटकहरूसँग सहकार्यको आवश्यकता रहेको पुनको धारणा थियो।