लाभांश र हकप्रद पारित गर्न दुई कम्पनीको वार्षिक साधारण सभा आज बस्दै
दुई कम्पनीको वार्षिक साधारण सभा आज चैत २७ गते बस्दैछ। लाभांश र हकप्रद पारित गर्न ग्रीन डेभलपमेन्ट बैंक र हकप्रद पारित गर्न युनाईटेड मोदी हाइड्रोपावरको साधारण आज बस्दैछन्।
ग्रीन डेभलपमेन्ट बैंकको आज १२औं वार्षिक साधारण सभा बागलुङको, हरिशंकर रोड, होटल पिस प्यालेसमा बिहान ११ बजे बस्दैछ।सभामा आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई कुल ६.०५ प्रतिशत अर्थात् ५.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३० प्रतिशत नगद लाभांश पारित हुनेछ। बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ५६ करोड ९६ लाख ९८ हजार रुपैयाँ पुग्नेछ। त्यसपछि १ः१.१०७१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा पारित गरिनेछ।
साथै, सम्भावित मर्जर तथा एक्विजिशनका लागि उपयुक्त वित्तीय संस्था पहिचान गर्ने, सम्झौतापत्रमा हस्ताक्षर गर्ने तथा आवश्यक प्रक्रिया अघि बढाउने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विषयमा निर्णय गरिनेछ।सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र उनको पारिश्रमिक निर्धारण गर्नेछ।साधारण सभा तथा लाभांश प्रयोजनका लागि बैंकले चैत १५ गतेलाई बुक क्लोज गरिसकेको छ। जस अनुसार, चैत १४ गतेसम्म कायम रहेका सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।
युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको आज ११औं वार्षिक साधारणसभा कालीमाटी बैंक्वेट हलमा बिहान ११ बजे सभा बस्दैछ।सभाले यसअघि १ः१ को अनुपातमा निष्कासन गर्ने भनिएको हकप्रद सेयर संशोधन गरी १ः०.६५ को अनुपातमा निष्कासन गर्ने, अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने, हकप्रद निष्काशनका लागि आवश्यक प्रक्रिया पूरा गर्ने तथा प्रबन्धपत्र एवं नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरू पारित गर्नेछ।
त्यसैगरी, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने तथा अन्य लगानीयोग्य क्षेत्र पहिचान गरी लगानी गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्तावहरू समेत सभामा प्रस्तुत गरिनेछन्। साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ, जसअनुसार चैत ७ गतेसम्म कायम सेयरधनीहरू सभामा सहभागी हुन योग्य रहनेछन्।