‘शार्क ट्यांक नेपाल’को प्रवर्धन गर्न नेपाल आउँदै अमन गुप्ता
असार १८ गतेदेखि हिमालय टेलिभिजनमा प्रसारण हुने बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’को प्रवर्धनका लागि ‘शार्क ट्यांक इण्डिया’का शार्क तथा बोट कम्पनीका सहसंस्थापक अमन गुप्ता नेपाल आउने भएका छन्।
मंगलबार काठमाडौँ आइपुग्ने गुप्ताले दिउँसो काठमाडौँमा आयोजित ‘शार्क ट्यांक नेपाल’को प्रिमियर एवं भेटघाट कार्यक्रममा मुख्य अतिथिको रूपमा सहभागिता जनाउने छन्। उक्त कार्यक्रममा ‘शार्क ट्यांक नेपाल’को पहिलो एपिसोडको ग्राण्ड प्रिमियर पनि हुनेछ। अमन गुप्ताले शार्कका रूपमा आफ्ना अनुभव साझा गर्दै नेपाली शार्कहरूसँग अन्तरक्रिया गर्नेछन्।
कार्यक्रममा छानिएका केही नेपाली उद्यमीहरूले अमन गुप्तासँग भेटघाट र छलफल गर्ने अवसर पनि पाउनेछन्।
विश्वका करिब ५६ देशमा प्रसारित हुने ‘शार्क ट्यांक’को नेपाली संस्करणको पहिलो सिजन असार १८ गतेदेखि प्रत्येक बुधबार र बिहीबार राति ९ बजे हिमालय टेलिभिजनमा प्रसारण हुनेछ। हिमालय टेलिभिजनले यस शोको उत्पादन र प्रसारण गर्नेछ।
पहिलो सिजनमा शार्कका रूपमा आईएमई समूहका सहसंस्थापक हेमराज ढकाल, अग्नी समूहका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, पद्म ज्योती समूहका अध्यक्ष शौरभ ज्योती, बैद्य अर्गनाइजेसनकी प्रबन्ध निर्देशक ऋतुसिंह बैद्य र निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरिया रहेका छन्।
यो सिजनका लागि झण्डै एक हजार पाँच सय भन्दा बढी उद्यमीले आवेदन दिएका थिए। दुई चरणको छनोट प्रक्रियापछि ११० वटा कम्पनीले शार्कहरूअगाडि आफ्नो आइडिया प्रस्तुत गर्ने अवसर पाएका छन्।