नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको खोजी गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रचण्डले संसदमा प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुनुपर्ने संसदीय परम्परा स्मरण गराए।
“संसदीय लोकतन्त्र अनुसार सत्तापक्षका तर्फबाट प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रमुख प्रतिपक्षी दलका नेताहरू उपस्थित रहनुपर्छ, त्यस्तै प्रमुख प्रतिपक्षी दलका नेताले सम्बोधन गर्दा प्रधानमन्त्री उपस्थित रहनुपर्ने व्यवस्था छ,” उनले भने।
प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवाको पनि खोजी गरे। “सायद, प्रधानमन्त्री आउँदै हुनुहुन्छ होला भन्ने सोचेको थिएँ। सत्तापक्षको सबैभन्दा ठूलो दलका नेता पनि आउनुहोला भन्ने आशा थियो, तर अहिलेसम्म आउनुभएको छैन। आशा गर्छु, उहाँ केही समयपछि आउनुहुनेछ,” उनले थपे।
आफ्नो मत प्रधानमन्त्रीले सुन्ने विश्वास व्यक्त गर्दै उनले माघ १८ गतेको बैठकमा प्रधानमन्त्रीले दिएको सम्बोधनको कपी पूरै अध्ययन गरेको खुलाए।
“अस्ति प्रधानमन्त्रीजीले गरेको लामो सम्बोधन सुन्नेमात्रै होइन, उहाँले मलाई एउटा कपी दिनुभएको थियो । त्यसलाई मैले अधोपान्त हेरेँ । दोहोर्याएर पनि हेरेँ । र, मैले बोल्दा पनि प्रधानमन्त्रीजीले त्यही गम्भीरताका साथ सुन्नुहनेछ भन्ने विश्वास व्यक्त गर्दछु,” उनले भने ।



















प्रतिकृया