प्रधानमन्त्री बालेन्द्र शाहले मलेसियाका समकक्षी अनवर इब्राहिमसँग टेलिफोनमार्फत आज बिहान विशेष छलफल गरेका छन्। छलफलका क्रममा प्रधानमन्त्री शाहले नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउनुपर्नेमा जोड दिएका छन्।
प्रधानमन्त्री शाहले मलेसियाको रोजगारी क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई स्वीकार्य नरहेको स्पष्ट पारेका छन्। उनले यस्तो अव्यावहारिक तथा अन्यायपूर्ण प्रवृत्तिको स्थायी समाधानका लागि नेपाल र मलेसियाबीच संयुक्त पहल आवश्यक रहेको बताएका छन्।
“हामीलाई सिन्डिकेट र बिचौलियातन्त्र मन पर्दैन र यो कुनै पनि हालतमा स्वीकार्य छैन। यसले श्रमिकहरूलाई मारमा पारेको छ,” प्रधानमन्त्री शाहले भने, “त्यसैले तपाईंका श्रममन्त्रीलाई हाम्रा श्रममन्त्रीसँग प्रत्यक्ष वार्तामा बस्न र यो समस्या सधैँका लागि हटाउन आवश्यक कदम चाल्न आग्रह गर्दछु।”
प्रधानमन्त्री शाहको धारणालाई सकारात्मक रूपमा लिँदै मलेसियाका प्रधानमन्त्री इब्राहिमले पनि सिन्डिकेट र बिचौलिया प्रथाको आफू पूर्ण विरोधमा रहेको बताएका छन्। उनले यस विषयमा मलेसियाका श्रममन्त्रीलाई तत्काल नेपालका श्रममन्त्रीसँग समन्वय गरी ठोस निकास निकाल्न निर्देशन दिने प्रतिबद्धता जनाएका छन्।
“यस्तो गलत र शोषणकारी परिपाटीको म पनि पूर्ण विरुद्धमा छु। म तुरुन्तै हाम्रा श्रममन्त्रीलाई यस विषयमा नेपाली समकक्षीसँग छलफल गरी ठोस निकास निकाल्न निर्देशन दिन्छु,” इब्राहिमले भने।

प्रतिकृया