रवि लामिछानेविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने

रवि लामिछानेविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा आज कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ। जिल्ला प्रहरी कार्यालयले पुस १ गते लामिछानेसहित गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक छविलाल जोशी लगायत अन्य विरुद्ध छानबिन सकिएको भन्दै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। सो प्रतिवेदनमा १ अर्ब ५१ करोड बिगो मागदाबीसहित सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण मुद्दा चलाउनुपर्ने राय दिइएको छ।

पुस १ गते प्रतिवेदन अध्ययनका लागि अदालतले चार दिनको म्याद थप गरेको थियो। गत शुक्रबार उक्त म्याद सकिए पनि शनिबार सार्वजनिक बिदा परेकाले आज मुद्दा दर्ता गर्न लागिएको हो। कानुन अनुसार ९० दिनभित्र अभियोजन गर्नुपर्ने व्यवस्था भएकाले आजै मुद्दा दर्ता हुने कास्की प्रहरीले जनाएको छ।

लामिछानेमाथि पोखराको सूर्यदर्शनसहित विभिन्न सहकारीका रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ। अनुसन्धानका क्रममा उनलाई गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो। यसअघि सोही प्रकरणमा असोज ६ गते नेपाल प्रहरीका पूर्वडीआईजी तथा गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई पनि पक्राउ गरिएको थियो।

प्रहरीले प्रतिवेदनमा ५१ जना प्रतिवादीबाट १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने उल्लेख गरेको छ। लामिछाने र जोशीसहित पाँच जनाविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहित प्रतिवेदन अदालतमा पेश भएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स