सरकारले डाटा सुरक्षासम्बन्धि मापदण्ड तयार पारेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले सो कुरा बताएकी हुन् । नेपाल उद्योग परिसंघले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आईटी पार्क, नलेज पार्क निर्माणको काम पनि मन्त्रालयले सुरु गरेको बताइन्।
आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धि अवधारणा पत्र स्वीकृत गरेर मन्त्रालयले त्यसको नीति बनाउने काम पनि सुरु गरेको सचिव अर्यालको भनाई थियो । सञ्चार क्षेत्रलगायतका लागि आवश्यक नीति निर्माणको काममा सरकार लागि परेकाले त्यसमा सहयोग गर्न पनि सम्बन्धित सबै पक्षसँग उनले अपिल गरिन ।
सचिव अर्यालले भनिन्,‘खासगरी एआई (आर्टिफिसियल इन्टेलिजेन्स) सम्बन्धि अवधारणा पत्र स्वीकृत गरेर यसको नीति बनाउने काम सुरु भइसकेको छ । डिजिटल नेपाल फ्रेमवर्क परिमार्जनको क्रममा रहेको छ । डाटा सुरक्षा सम्बन्धि मापदण्ड तयार भइसकेको छ । त्यसैगरी आइटीपार्क नलेज पार्क सम्बन्धि कार्यविधिहरु बनाएर यसको काम अघि बढेको म यहाँ संक्षिप्तमा जानकारी गराउन चाहन्छु । र सँगसँगै सूचना प्रविधिको क्षेत्रमा डिजिटल फाउण्डेशनको क्रममा धेरै ठूलो उपलब्धि हासिल भएको छ । खाली प्रविधिको पँहुच पुर्याउने काम भएको छ । र अहिलेको आवश्यकता भनेको सरकार निजी क्षेत्रको लगानीमार्फत यो प्रविधि अधिकतम उपयोग गर्नु अहिलेको आवश्यकता हो । यसका लागि म निजी क्षेत्रलाई हार्दिक अनुरोध गर्न चाहन्छु । ऐन, कानून निर्माणमा सबैको सहयोगका लागि पनि म अपिल गर्न चाहन्छु ।’
सचिव अर्यालले सरकारले सूचना प्रविधिमा सबैको पहुँच पुर्याउने काम गरेको उल्लेख गर्दै त्यसको अधिकतम उपयोग गर्न पनि निजी क्षेत्रलाई आग्रह गरिन ।



















प्रतिकृया